Headline

अष्ट्रेलियन ओपन खेल्न आएका जोकोभिचको भिसा रद्द

Published

on

बर्षको पहिलो ग्राण्ड स्ल्याम अष्ट्रेलियन ओपन खेल्न मेलबर्न एयरपोर्ट पुगेका सर्बियन टेनिस सुपरस्टार नोभाक जोकोभिचको भिसा अष्ट्रेलियाले रद्द गर्दै उनलाई घर फर्काउने तैयारी गरेको छ ।

बिश्व नम्बर एक टेनिस खेलाडी जोकोभिचलाई कैयौं घण्टा एयरपोर्टमै राखेपनि बोर्डर सुरक्षा दलले उनले अष्ट्रेलिया प्रवेश नियम पुरा नगरेको र डिपोर्ट गरिने बतायो । उनलाई सरकारी डिटेन्सन होटलमा राख्दै घर फर्काउने तैयारी गरिएको छ ।

जोकोभिचलाई भ्याक्सिन नलगाए पनि अष्ट्रेलियन ओपन खेल्न दिने निर्णयको व्यापक बिरोध भएपछि प्रधानमन्त्री स्कट मोरिसनले नै सार्वजनिक रुपमा स्पष्टिकरण दिनु परेको थियो ।

आयोजकहरुले सबै खेलाडी तथा पदाधिकारीलाई भ्याक्सिन अनिवार्य गरेको छ तर पर्याप्त प्रमाण दिने हो भने एक स्वतन्त्र बिज्ञहरुको टोलीले यसमा छुट दिन सक्नेछ ।

जोकोभिचले आफूले भ्याक्सिन लगाए अथवा नलगाएको बारे केही नबोले पनि गत बर्ष आफू यसको बिरुद्धमा रहेको अभिव्यक्ति दिएका थिए । जोकोभिच बिना भ्याक्सिन नै अष्ट्रेलियन ओपनमा सहभागि हुन गइरहेको समाचार बाहिर आएपछि अष्ट्रेलियनहरु यो निर्णयको आलोचनामा उत्रिएका थिए ।

जोकोभिचले भ्याक्सिन नलगाएको कारणबारे पर्याप्त प्रमाण दिन नसक्ने हो भने उनलाई प्लेन चढाएर घर पठाइने बताएका थिए । अष्ट्रेलियन ओपन आयोजकले जोकोभिचलाई बिशेष ग्राह्यता नदिएको बताए पनि यो निर्णयले संसारकै कडा लकडाउनमा समय बिताएका अष्ट्रेलियनहरु क्रुद्ध बनेका थिए ।

१६ बर्षमाथिका ९० प्रतिशतभन्दा बढी जनसंख्याले भ्याक्सिन लगाइसकेको भएपनि कति अष्ट्रेलियनहरु हालको अवस्थामा एक राज्यबाट अर्को राज्यमा जान सकिरहेका छैनन् ।

अष्ट्रेलियन ओपन जनवरी १७ बाट शुरु हुँदैछ ।

Click to comment

Trending