Headline

न्युजिल्याण्डबिरुद्ध बँगलादेशको टेस्ट क्रिकेट इतिहासकै उत्कृष्ट जित

Published

on

वल्र्ड टेस्ट च्याम्पियन न्युजिल्याण्डमाथि उसकै घरमा ऐतिहासिक जित हात पार्दै बंगलादेशले टेस्ट क्रिकेट इतिहासकै सबैभन्दा ठूलो मध्येको एक स्तब्धपूर्ण नतिजा निकालेको छ ।

इबादोत हुसैनले करिअरकै उत्कृष्ट प्रदर्शन गरेपछि दोश्रो इनिङ्गसमा १७ रनको झिनो अग्रताका साथ १ सय ४७ रनमा पाँच विकेटको स्थितिबाट अघि खेलेको न्युजिल्याण्ड मात्र २२ रन जोड्दा १ सय ६९ रनमा अल आउट हुन पुग्यो ।

जितका लागि ४१ रनको लक्ष्य बँगलादेशले मात्र दुई विकेटको क्षतिमा हात पार्दै बंगलादेशले कुनै पनि संरचनामा पहिलो पटक न्युजिल्याण्डलाई उसकै घरमा माथ दियो । बँगलादेशको लागि जित किन पनि बिशेष रह्यो भने यो टेस्टमा उ आफ्ना दुई उत्कृष्ट ब्याट्म्यान शकिब अल हसन र तमिम इक्बालको अनुपस्थितिमा खेलिरहेको थियो ।

बँगलादेशका लागि नाज्मुल होसेन सान्टोले १७ रन बनाए भने मोमिनुल हकले १३ रन जोडे । मुस्फिकुर रहिमले बिजयी चौका प्रहार गरे ।

न्युजिल्याण्डको दोश्रो इनिङ्गसमा विल यँगले सर्वाधिक ६९ रन बनाए भने रस टेलरले ४० रन बनाए । दुवै होसेनको शिकार बनेका थिए । न्युजिल्याण्डका पाँच ब्याट्स्म्यानले दोश्रो इनिङ्गसमा खाता खोल्न सकेनन् ।

इबादोतले २१ ओभरमा ४६ रन खर्चदै ६ विकेट लिएका थिए । यस्तै टास्किन अहमदले तीन विकेट लिए । इबादोतले यो टेस्ट अघि करिअरको शुरुवाती १० टेस्टमा मात्र ११ विकेट पाएका थिए ।

पहिलो इनिङ्गसमा न्युजिल्याण्डले डेभन कन्वेको १ सय २२ रनको मद्दतमा ३ सय २८ रन जोडेको थियो । महमुद हसन जोय, सान्टो, कप्तान मोमिनुल हक र लिटन दासको उल्लेखनीय योगदानमा बँगलादेशले ४ सय ५८ रन जोड्दै १ सय ३० रनको अग्रता लिन सफल भएको थियो ।

Click to comment

Trending