Headline

इबादत होसैनले घातक बलिङ गर्दा बंगलादेश इतिहास रच्ने दाउमा 

Published

on

इबादत होसैनले घातक बलिङ गर्दै चौथो दिनको अन्त्य तिर, १३६ रनमा दुई विकेट गुमाएको न्युजिल्यान्डको नौ बलको अन्तरालमा तीन विकेट हात पार्दा बंगलादेश इतिहास रच्ने अवसर नजिक पुगेको छ ।

पहिलो टेस्टको चौथो दिनको खेलको समाप्तिमा न्युजिल्यान्डले ६३ ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १४७ रन मात्र जोड्न सकेको छ भने बंगलादेशको पहिलो पारीको आधारमा दोश्रो पारीमा मात्र १७ रनको अग्रता लिँदा उसको हातमा पाँच विकेट मात्र बाँकी रहेको छ । 

बंगलादेशले न्युजिल्यान्डसँग यस अघि १५ वटा टेस्ट खेल्दा एउटामा पनि जित हात पार्न सकेको छैन भने यस पटक उसले इतिहास रच्ने सुनौलो अवसर पाएको छ ।

चौथो दिनको खेल ६ विकेटको नोक्सानीमा ४०१ रनबाट सुरु गरेको बंगलादेशले ५७ रन जोड्दा बाँकी चार विकेट गुमायो भने पहिलो पारीमा १३० रनको अग्रता लिन सफल भयो ।     

बंगलादेशको तर्फबाट कप्तान मोमिनुल हकले २४४ बलको सामना गर्दै सर्वाधिक ८८ रन बनाए भने विकेट किपर ब्याटर लिटन दासले १७७ बल खेल्दै ८६ रनको योगदान दिए । त्यस्तै ओपनर महमुदुल हसन जोयले ७८, नाजमुल होसैन शान्तोले ६४, मेहदी हसन मिराजले ४७ रनको पारी खेल्दा बंगलादेशले १७६ दशमलब दुई ओभर खेल्दै ४५८ रनको विशाल योगफल तयार पार्यो । 

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक चार विकेट हात पार्दा निल वेंगरले तीन तथा टिम साउथीले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

आफ्नो दोश्रो पारीमा विल योङ र रस टेलरको साझेदारीमा राम्रो सुरुवात गरे पनि ६९ रन बनाएका योङको विकेटको पतन सँगै न्युजिल्यान्डलाई बंगलादेशले दबाबमा राख्न सफल रह्यो ।

१३६ रनमा तेश्रो विकेट गुमाएको न्युजिल्यान्डले थप दुई विकेट गुमाउँदा कुनै रन जोड्न सकेन । न्युजिल्यान्डका हेनरी निकोल्स र टम ब्लनडेल रनको खाता पनि नखोली पेभेलियन फर्किए ।

चौथो दिनको खेलको समाप्तिमा रस टेलर ३७ तथा रचिन रविन्द्र ६ रनमा अविजित छन् ।

बंगलादेशलाई ऐतिहासिक जित तर्फ उन्मुख गराउने क्रममा होसैनले सर्वाधिक चार विकेट लिएका छन् भने तास्किन अहमदले एक विकेट आफ्नो नाममा दर्ता गराएका छन् ।    

    

Click to comment

Trending