Headline

बिराटको अनुपस्थितिमा निरिह भारतीय ब्याटिङ

Published

on

मार्को यानसन, कागिसो रबाडाडुएन ओलिभरले घातक बलिङ गर्दा भारत विरुद्धको दोश्रो टेस्टको पहिलो दिनको खेलमा नै घरेलु टोली दक्षिण अफ्रिकाले राम्रो पकड बनाउन सफल भएको छ । 

जोहानेस्बर्गमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ६३ दशमलब एक ओभर खेल्दै २०२ रन जोड्दा आफ्ना सबै विकेट गुमायो भने आज नै आफ्नो पहिलो पारी सुरु गरेको दक्षिण अफ्रिकाले १८ ओभर खेल्दै एक विकेटको नोक्सानीमा ३५ रन जोडेको छ भने १६७ रनले पछि रहेको छ । 

बिराट कोहलीको अनुपस्थितिमा भारतको कप्तानी सम्हालेका ओपनर केएल राहुलले सर्वाधिक ५० रन बनाए । नियमित कप्तान कोहलीको ढाडमा समस्या देखिए पनि उनले अन्तिम समयमा खेल्न नसक्ने हुँदा राहुलले कप्तानी गरेका हुन् । यस अघि सम्पन्न पहिलो टेस्टमा शतकीय पारी खेलेका राहुलले १३३ बलको सामना गर्दै नौ चौका प्रहार गरे ।  

भारतको तर्फबाट अर्धशतक बनाउनबाट चुकेका स्पिनर रविचन्द्रन अश्विनले आक्रामक पारी खेल्दै ५० बलमा ४६ रन बनाए । ओपनर मायंक अगरवाल २६, चेतेश्वर पुजारा तीन, अजिंक्य रहाने गोल्डेन डकआउट हुँदा खराब सुरुवात गरेको भारत कुनै पनि समय खेलमा फर्कन सकेन । 

भारतका अन्य ब्याटरमा हनुमा बिहारी २०, ऋषभ पन्त १७, मोहम्मद शामी नौ, शार्दुल ठाकुर शुन्य तथा मोहम्मद सिराज एक रनमा आउट भए भने जस्प्रित बुम्राले अविजित १४ रनको पारी खेले ।

भारतलाई सस्तैमा रोक्ने क्रममा मार्को यानसनले १७ ओभरमा ३१ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने कागिसो रबाडाडुएन ओलिभरले समान ३-३ विकेट आफ्नो नाममा लेखाए ।

आज नै आफ्नो पारी सुरु गरेको दक्षिण अफ्रिकाका ओपनर एडेन मार्क्रम सात रन बनाएर मोहम्मद शामीको शिकार भए भने अर्का ओपनर तथा कप्तान डिन एल्गरकिगन पिटरसन क्रमश ११ र १४ रनमा अविजित छन् ।

तीन खेलको शृंखलामा भारत १-० ले अघि छ । सेन्चुरियनमा भएको पहिलो टेस्टमा भारतले दक्षिण अफ्रिका माथि ११३ रनको फराकिलो जित हात पारेको थियो ।   


 

Click to comment

Trending