Headline

शेर्पाको पुनरागमन, सातदोबाटोलाई हराउदै पाँचौ स्थानमा

Published

on

शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाको शुरुवात राम्रो थिएन । पहिलो चार खेलबाट मात्र दुई अंक बटुलेको शेर्पा रेलिगेसन जोनमा रहेको थियो ।

तर सोमबार सातौं चरणको समाप्तिसम्म शेर्पा पाचौं स्थानमा उक्लिसकेको छ । लगातार तेश्रो जित हात पार्ने क्रममा लिगमा प्रभावशाली शुरुवात गरेको नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गर्यो ।

पछिल्लो तीन खेलबाट सम्भावित सबै ९ अंक बटुलेको शेर्पाको ११ अंक भएको छ र यस क्रममा त्रिभुवन आर्मी फुटबल क्लबसँग पनि अंक बराबरी गरेको छ । लिगमा १३ अंक रहेको संकटा र आर्मीको खेल आफूले सोचे अनुरुप जाने हो भने शेर्पा एक जितले तेश्रो स्थानमा उक्लने तय छ

शिर्ष स्थाानमा रहेको मच्छिन्द्र फुटबल क्लबको १७ र मनाङ मस्र्याङ्गदी क्लबको १६ अंक छ । शेर्पाले आर्मी बाहेक शिर्ष चारमा रहेका अन्य सबै टोलीसँग खेलिसकेको छ ।

यस्तो अवस्थामा शेर्पालाई इतिहासमै पहिलो पटक लिगमा सबैभन्दा राम्रो स्थानमा रहने सुनौलो अवसर छ । संकटा र नेपाल पुलिस क्लबसँग बराबरी खेलेको शेर्पा मनाङसँग १–० र मच्छिन्द्रसँग ३–० ले हार्न पुगेको थियो ।

त्यस यता उसले ब्रिगेड बोइज क्लब र च्यासल युथ क्लबलाई समान ३–१ गोल अन्तरले पराजित गरेको थियो । सातदाबोटोमाथिको जितले शेर्पामाथि थप आत्मबिश्वास थप्ने काम गरेको छ ।

सोमबार नीरस रहेको खेलमा कप्तान बिश्वास श्रेष्ठको ४४ औं मिनेटको पेनाल्टी निर्णायक रह्यो । पिटर सेगुनले त्रिदेव गुरुङलाई लडाएपछि शेर्पाले पेनाल्टी पाएको थियो । बिश्वसाले सहजै त्यसलाई गोलमा परिणत गरे ।

दोश्रो हाफ केही प्रतिस्पर्धात्मक रहेपनि दुवै टोली उल्लेखनीय अवसर सृजना गर्न असफल रहे पनि इन्जुरी समयमा सातदाबोटोले प्राप्त सुनौलो मौकामा महँगो मुल्य चुकायो ।

इन्जुरी समयको सातौं मिनेटमा शेर्पाका जीवन गुरुङले पेनाल्टी बक्समा मार्टिन सिलोलाई लडाए । तर प्राप्त पेनाल्टी सिलोले गोलमा परिणत गर्न सकेनन् । शेर्पाका गोलरक्षक दिप कार्कीले आरामले नै सिलोको प्रहार नियन्त्रणमा लिन सफल भएका थिए

लिगको शुरुवाती चरणमा शिर्ष चारमा रहेको ए डिभिजन लिगको डेब्युटेन्ट सातदोबाटो अहिले ८ अंक सहित आठौं स्थानमा यथावत रहेको छ ।

Click to comment

Trending