Headline

रियल हारेपछि प्रशिक्षकले भनेः हामी बिदामै थियौं

Published

on

स्पेनिस ला लिगामा १६ औं स्थानको गेटाफेसँग १–० ले स्तब्ध भएपछि रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सलोट्टीले आफ्नो टोलीले अझै पनि बिदा मनाइरहेको भन्दै खेलाडीमाथि कटाक्ष गरेका छन् ।

तीन महिनामा पहिलो हार व्यहोर्दा उपाधिमा रियललाई पछ्याइरहेका अन्य क्लबलाई ठूलो राहत मिलेको छ । एडर मिलिटाओको सामान्य गल्तिको फाइदा उठाउदै एनेस उनालले घरेलु मैदानमा गेटाफेलाई अपेक्षा नगरिएको जित दिलाएका थिए ।

“हामी एक अतिरिक्त दिन बिदा मनाइरहेको थियौं । यो क्रिष्मस अघि खेल्दै आइरहेको टोली थिएन, खेलाडीहरुमा न प्रतिबद्धता देखियो, न एकाग्रता नै । हामी हारकै हकदार त थिएनौं तर यसले हामीलाई निन्द्राबाट उठाउन भने मद्दत गर्नेछ,” रियल प्रशिक्षक एन्सलोट्टीले खेलपछि भने ।

रियल पराजित हुँदा शिर्ष स्थानको दाबेदारीमा रहेका अन्य टोलीहरुलाई ठूलो राहत मिलेको छ । रियलको २० खेलबाट ४६ अंक भएको छ । यदि दुई खेल कम खेलेको सेभियाले अब दुवै खेल जित्ने हो भने उसले रियलसँगको दुरी दुई अंकमा छोट्याउन सक्छ ।

एक खेल कम खेलेका रियल बेटिसको ३३, डिफेन्डिङ्ग च्याम्पियन एट्लेटिको म्याड्रिडको ३२ र बार्सिलोनाको ३१ अंक छ । रायो भालेकानो र रियल सोसिडाडको समान ३० अंक छ ।

एट्लेटिकोले आइतबार नै भालेकानोलाई २–० ले हराउदै शिर्ष चारमा फर्किएको हो । बेटिस भने सेल्टा भिगोसँग २–० ले पराजित भयो भने सोसिडाडले आलाभेससँग १–१ को बराबरी खेल्यो ।

बार्साको झिनो आशा

आइतबारका परिणामले अन्य टोलीहरुलाई सघाउदै गर्दा बार्सिलोनाले दोश्रो रोजाइको टोलीबाटै मायोर्का माथि १–० को जित निकाल्दै आफ्नो झिनो आशालाई कायमै राखेको छ । रियलभन्दा १५ अंक पछाडी रहेपनि बार्सिलोना शिर्ष चारमै राम्रो उपस्थिति जनाउन सक्नेछ भने परस्पर प्रतिद्वन्दीले पनि केही खेलहरुमा अंक गुमाउने आशामा हुनेछ ।

गत हप्ता कोभिड संक्रमण भएका ८ खेलाडीसँगै अन्य ६ जना चोट अथवा प्रतिबन्धनका कारण बार्सिलोना टोलीमा थिएनन् । लुक डि जोँगले गोल गर्दै बार्सिलोनालाई स्पष्ट तीन अंक दिलाएका थिए ।

शुरुवाती ११ का जोर्डी आलबा, औस्माने डेम्बेले र गाभी कोभिड लाग्ने ८ मध्येका तीन थिए भने सर्जियो बुस्केट्स प्रतिबन्धमा रहेका छन् । यस्तै पेद्री, अन्सु फाती र मेम्फिस डिपे चोटग्रस्त रहेका छन् ।

Click to comment

Trending