Headline

चेल्सी र लिभरपुलको रोमाञ्चक बराबरीले सिटीलाई फाइदा

Published

on

रोमाञ्चक खेलमा दुई गोल पछि परेको चेल्सीले इंगलिस प्रिमियर लिगमा लिभरपुलसँग स्ट्यामफोर्ड ब्रिजमा २–२ गोलको बराबरी खेलेको छ ।

बराबरीले भने शिर्ष स्थानको म्याचेस्टर सिटीले चाहे जस्तो नतिजा निक्लिएको छ । सिटीले दोश्रो स्थानको चेल्सीसँग १० अंकको फराकिलो अग्रता कायमै राखेको छ भने एक खेल कम खेलेको लिभरपुल ११ अंकले पछाडी छ ।

शनिबार आर्सनललाई अन्तिम समयमा पराजित गरेको सिटीको ५३ अंक छ । चौथो स्थानमा रहेको आर्सनल सिटीभन्दा १८ अंकले पछि रहँदा अब मात्र चेल्सी र लिभरपुल ठूलो चुनौतिको रुपमा रहेका छन् ।

आइतबार अवे खेलमा नवौं मिनेटमै सादियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । २६ औं मिनेटमा ट्रेन्ट एलेक्जेण्डर आर्नोल्डले दिएको असिस्टमा मोहम्मद सलाहले अग्रतालाई दोब्बर बनाए ।

लिभरपुललाई अबको समस्या भने उच्च फर्ममा रहेका आइतबारका दुवै खेलका गोलकर्ता नहुनु हो । इजिप्सियन सलाह र सेनेगलका माने अब अफ्रिका कप अफ नेसन्सका लागि आ–आफ्नो टिमसँग जोडिने छन् ।

यसअघिको खेलमा पनि ब्राइटनसँग बराबरी खेल्न बाध्य चेल्सी ४२ औं मिनेटमा माटियो कोभाचको गोल मार्फत खेलमा फर्कियो । पहिलो हाफको इन्जुरी समयमा क्रिष्चियन पुलिसिचले बराबरी गोल गरे । लिगकै उत्कृष्ट मध्येको एक खेलमा दोश्रो हाफमा भने दुवै तर्फ गोल हुन सकेन ।

यसअघिका खेलहरुमा एभर्टन घरेलु मैदानमै ब्राइटनसँग ३–२ ले स्तब्ध बन्यो । ब्रेन्टफोर्डले एस्टन भिल्लालाई २–१ हरायो भने लिड्सले बर्न्लीमाथि ३–१ को महत्वपूर्ण जित हात पार्यो ।

Click to comment

Trending