Headline

मिल्यो क्यान र खेलाडी विवाद, सोमबारबाट सबै खेलाडी अभ्यासमा जाने

Published

on

नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुबीचको विवाद मिलेको छ । विवाद मिलेसँगै सोमबारदेखि आगामी फेब्रुअरीमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोटका लागि अभ्यास सुरु हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले यसको पुष्टि गर्दै भने “क्यान र खेलाडी बीच देखिएको विवाद समाधान भएको छ अब भोलिबाट नियमित अभ्यास सुरु हुनेछ ।” 

क्यानको कारबाहीमा परेका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरी, तिब्र गतिका बलरद्वय सोमपाल कामी र कमल सिंह ऐरी सहित कुशल भुर्तेल, बिक्रम सोब, करण केसी, सुशन भारी, रोहित कुमार पौडेल, बिनोद भण्डारी, सन्दिप जोरा र नन्दन यादवले आफुहरु बन्द प्रशिक्षणमा सहभागि हुन नसक्ने भन्दै हिजो लिखित माग गरेका थिए । 

उनीहरुले निवेदनमा खेलाडीको हक हितमा बोल्दा कप्तान र उपकप्तानलाई कारबाही गरेको र यसले आफुहरुको मनोबल गिर्नुको साथै क्रिकेट खेल्ने वातावरण समेत नभएको पत्रमा लेखे थिए । त्यस्तै पत्रमा टिमलाई यथास्थितिमै फर्काइनु पर्ने (ज्ञानेन्द्र कप्तान र दिपेन्द्र उपकप्तान हुनुपर्ने) माग पनि गरिएको थियो ।

क्यानको पदाधिकारी र ज्ञानेन्द्र बीचमा लामो समय सम्म छलफल चलेको थियो । क्यान खेलाडीहरुको अन्य मागहरु मान्न तयार रहेको तथा कप्तानको विषयमा भने आफ्नो निर्णयमा अडिग रहेको अध्यक्ष चन्दले विस्पोर्ट्जसँगको फोन वार्तामा बताए । 

“क्यान भनेको खेलाडीहरु कै हक हितका लागि काम गर्ने संस्था हो । खेलाडीहरुको माग मान्न हामी तयार छौँ । हामीहरुले यस अघि पनि यो सबै भन्दै आएका हौँ । कप्तानको विषयमा ज्ञानेन्द्रले केहि आपत्ति जनाए पनि हामीले उनलाई कुनै पुर्वाग्रह नराखी कप्तानबाट हटाएका हौँ । हामीले समय सापेक्ष सन्दिपलाई कप्तान नियुक्त गरेका हौँ । सन्दिपले विश्वका सबै फ्रेन्चाइज लिग खेल्दै राम्रो अनुभव बटुलेका छन् । त्यसैले पनि हामीले उनले नेपाली क्रिकेटलाई कप्तानका रुपमा अर्को स्तरमा पुर्याउने छन् भन्नेमा आशावादी छौँ ।”

ज्ञानेन्द्रले पनि आफूहरू सन्दिपको कप्तानीमा खेल्न कुनै आपत्ती नहुने जनाएको पनि चन्दले बताए । ” बाहिर हल्ला चले जस्तो आफु सन्दिपलाई कप्तानका रुपमा अपनाउन नसक्ने नरहेको र सन्दिपको कप्तानीमा आफुलाई खेल्नलाई कुनै आपत्ति नभएको ज्ञानेन्द्रले हामीलाई बताएका थिए । उनको आपत्ति भनेको कारबाही स्वरूप कप्तान र उपकप्तानबाट हटाइएको भन्नेमा मात्र रहेको जनाएका थिए ।”

“हामीले पनि उनलाई कारबाही स्वरूप भन्दा पनि नियमित प्रक्रिया अनुसार कप्तान परिवर्तन गरेको र नेपालमा शरद भेषावकर, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र आफै पनि कप्तानका लागि काबिल रहेको र भविष्यमा फेरी जो कोहिलाई पनि कप्तान नियुक्त गर्न सकिने भएको ज्ञानेन्द्रलाई भनेको र उनी पनि यस कुरामा सहमत रहे ।” 

“ज्ञानेन्द्र अब भोलि टियुमा अभ्यासका लागि भेट्ने भन्दै हामीसँग बिदा भएर गएका छन् । आशा छ उनी भोलि टियुमा उपस्थित हुनेछन्,” चन्दले भने   

बिहिबार मात्र नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफुले क्यान र खेलाडी दुबै टोलीसँग छलफल गरेको र क्यान खेलाडीको अन्य मागहरु मान्न तयार रहेको भए पनि कप्तान नियुक्तीमा आफ्नो अडान नफेर्ने रहेको जनाएका थिए । क्यानले ज्ञानेन्द्रलाई बर्खास्त गर्दै लेग स्पिनर सन्दिप लामिछानेलाई कप्तान नियुक्त गरेको थियो भने उपकप्तान दिपेन्द्रको स्थानमा कुनै पनि नाम सार्वजनिक गरेको छैन ।   

 

Click to comment

Trending