Headline

ए डिभिजन लिगः मच्छिन्द्रलाई पुलिसबिरुद्ध जित्नै पर्ने दवाब

Published

on

आफ्नो अघिल्लो खेलमा उपाधिको अर्को प्रबल दाबेदार मनाङ मस्र्याङ्गदी क्लबमाथि १–० को जित हात पारे पनि मच्छिन्द्र फुटबल क्लबलाई राहतको साँस फेर्ने समय छैन । कारण हो एएफसी कपको स्थान ।

मनाङ अहिले ७ खेलबाट १६ अंक सहित शिर्ष स्थानमा छ । एक खेल कम खेलेको मच्छिन्द्र १४ अंक सहित दोश्रो स्थानमा छ । एन्फाले सातौं चरणका खेलहरुको समाप्तिपछि शिर्ष स्थानमा रहेको टोलीलाई एएफसी कपमा सहभागिता गराउने भएकाले मच्छिन्द्रलाई आइतबारको खेल जित्नै पर्ने दवाब छ ।

आइतबारको एक मात्र खेलमा मच्छिन्द्रले दशरथ रँगशालाको फ्लड लाइट मुनि नेपाल पुलिस क्लबको सामना गर्दैछ । दुवै टोलीको लागि यो खेल उत्तिकै महत्वपूर्ण रहेपनि मच्छिन्द्रलाई बढी छ । बराबरी मात्रैले पनि मच्छिन्द्र एएफसी कप खेल्नबाट बञ्चित हुनेछ ।

मच्छिन्द्र लयमा खेलिरहेको टोली हो । जावलाखेल युथ क्लबलाई तेश्रो चरणमा २–० र चौथोमा हिमालयन शेर्पा क्लबलाई ३–० ले हराएको मच्छिन्द्रले त्यसपछिको दुई खेलमा चाहे अनुरुपकै नतिजा निकालेको थियो ।

पाचौं चरणमा हालसम्म लिगमा अपराजित रहँदै तेश्रो स्थानमा रहेको संकटासँग मच्छिन्द्रले बराबरी खेल्यो । त्यसपछिको खेलमा उसले मनाङ्गलाई हराएको हो । मच्छिन्द्रले अर्को बलियो टोली त्रिभुवन आर्मी फुटबल क्लबबिरुद्ध पनि बराबरी खेलेको थियो ।

पुलिसको प्रदर्शन भने उतारचढाव पूर्ण छ । अंक तालिकाको पहिलो हाफजस्तै प्रतिस्पर्धात्मक रहेको तल्लो हाफमा रहेको पुलिस ६ अंक सहित गोल अन्तरको आधारमा १० औं स्थानमा छ । यस्तोमा पुलिसको लागि तीन अंकले पनि ठूलो महत्व राख्नेछ ।

मात्र एक खेल जितेको पुलिसको लागि पछिल्लो दुई खेल राम्रो जान सकेन । पुलिस मनाङसँग अवे खेलमा ३–१ ले हारेको थियो भने बिभागीय डर्बीमा नेपाल एपिएफसँग बराबरीमा रोक्कियो । अर्को डर्बीमा आर्मीलाई बराबरीमा रोकेपनि हिमालयन शेर्पा क्लबसँग बराबरीमा गरेको थियो ।

पुलिसको एक मात्र जित जावालाखेल युथ क्लबबिरुद्ध रहेको छ ।

Click to comment

Trending