Headline

मनाङको सातौं चरणमा कठिन तर महत्वपूर्ण जित

Published

on

मनाङ मस्र्याङ्गदी क्लबले शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सातौं चरणको खेलमा कठिन तर महत्वपूर्ण जित हात पारेको छ ।

पोखरामा घरेलु मैदानमा मनाङले ब्रिगेड बोइज क्लबलाई १–० को झिनो अन्तरले पराजित गर्दै शिर्ष स्थानमा उक्लियो । सातौं चरणको समाप्तिसम्ममा शिर्ष स्थानको टोलीले एएफसी कपमा नेपालको प्रतिनीधित्व गर्ने अवसर रहेको हुनाले पनि मनाङको लागि जित महत्वपूर्ण रह्यो ।

मनाङको १६ अंक भएको छ भने एएफसी कपको बाँकी सम्भावना मच्छिन्द्र फुटबल क्लबसँग मात्रै छ । एक खेल कम खेलेको मच्छिन्द्रको १४ अंक छ ।  एक खेल कम खेलेको संकटाको १२ अंक रहेपनि उसँग क्लब लाइसेन्स नभएका कारण एएफसी कप खेल्न पाउने छैन ।

त्रिभुवन आर्मी फुटबल क्लब ११ अंक सहित चौथोमा छ भने थ्रि स्टार र न्युरोड टिमको समान १० अंक छ ।

ब्रिगेड बोइज क्लब रेलिगेसन जोनबाट एक स्थान माथि छ । पाँच अंक रहेको ब्रिगेड च्यासल युथ क्लब (चार) र फ्रेण्ड्स क्लबभन्दा माथि रहेको हो ।

ए डिभिजन लिग पहिलो पटक पोखरामा हुँदा नेपाली पुलिस क्लबबिरुद्ध चार गोल गरेको मनाङ शनिबार ब्रिगेडबिरुद्ध भने फिक्का देखिएको थियो । ब्रिगेडले खेलमा अग्रता लिन सुनौलो अवसर खेर फालेको थियो ।

१६ औं मिनेटमा आदित्य चौधरीले शिशिर लेखीलाई लडाएपछि ब्रिगेडले पेनाल्टी पाएको थियो । तर शिशिरको शट आकाशिएपछि उनी नराम्ररी चुके । पहिलो हाफको अन्त्यतिर अञ्जन बिष्टले हेडरमार्फत गोल गर्दै मनाङलाई अग्रता दिलाए ।

लिगमा अञ्जनले गरेका तीन वटै गोल पोखरा रँगशालामै सम्भव भएको छ । दोश्रो हाफमा मनाङले निरन्तर प्रयास गरेपनि गोल गर्न सकेन ।

Click to comment

Trending