Headline

दक्षिण अफ्रिकाका विकेट किपर डि ककले लिए आकास्मात सन्यास 

Published

on

दक्षिण अफ्रिका पूर्व कप्तान तथा विकेट किपर क्विन्टन डि ककले टेस्टबाट आकास्मात सन्यास लिने घोषणा गरेका छन् । डि ककले भारत विरुद्धको पहिलो टेस्ट सकिए लगत्तै टेस्टबाट सन्यासको घोषणा गरेका हुन् ।

डि ककले यस अघि नै भारत विरुद्धको दोश्रो र तेश्रो टेस्ट नखेल्ने जनाएका थिए । उनी बाबु बन्न लागेकाले यस समयमा आफ्नो श्रीमतीसँग समय बिताउने भन्दै यस अघि नै बोर्डसँग स्वीकृति लिइसकेका थिए । तर उनले अचानक सन्यास नै लिने निर्णय लिएका हुन् ।

“यो यस्तो निर्णय हैन जुन मैले हतारमा लिएको हो,” डि ककले दक्षिण अफ्रिका क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा भनेका छन् । “मैले यसका बारेमा धेरै लामो समय देखि सोच बिचार गरेको थिए । मैले मेरो भविष्यको बारेमा सोच्दै अबको प्राथमिकता मेरो श्रीमती र आउँदै गरेको बच्चाका लागि उचित समय दिन चाहन्छु ।  मेरो लागि मेरो परिवार सबथोक हो । म मेरो नयाँ अध्याय सुरु हुँदा पर्याप्त समय र स्थान मेरो नयाँ बच्चा र परिवारका लागि दिन चाहन्छु ।”

“मलाई टेस्ट क्रिकेटलाई निकै मन पर्दछ र आफ्नो देशको प्रतिनिधित्व गर्नका लागि पनि लालायित हुन्छु । दक्षिण अफ्रिकाको लागि टेस्ट खेल्दा मैले धेरै सुखद र दुखद क्षणको अनुभूति गरेको छु । तर मैले अब नयाँ चिज फेला पारेको छु जसलाई म एकदमै माया गर्दछु ।”

२९ वर्षीय डि ककले दक्षिण अफ्रिकाको लागि ५४ टेस्ट खेल्दै ३८ दशमलब ८२ को औसतमा ३३ सय रन बनाएका छन् जसमा ६ टेस्ट शतक पनि रहेको छ । उनले सन् २०१४ मा अष्ट्रेलिया विरुद्धको खेलबाट टेस्टमा डेब्यु गरेका थिए ।

उनले आफू एकदिवसीय र ट्वान्टी ट्वान्टीमा भने उपलब्ध हुने जनाएका छन् ।  

Click to comment

Trending