Headline

रस टेलरले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा 

Published

on

न्युजिल्यान्डका पूर्व कप्तान रस टेलरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । 

३७ वर्षीय टेलरले सामाजिक सञ्जाल मार्फत घरेलु मैदानमा हुने बंगलादेशसँगको दुई टेस्ट खेलको शृंखला पछि टेस्टबाट तथा अष्ट्रेलिया र नेदरल्याण्ड्ससँग एकदिवसीय शृंखला पछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने जनाएका हुन् । जनवरीमा न्युजिल्यान्डले तीन एकदिवसीयको लागि अष्ट्रेलियाको भ्रमण गर्नेछ भने नेदरल्याण्ड्ससँग घरेलु मैदानमा नै तीन खेलको शृंखला खेल्ने छ ।  

टेलर न्युजिल्यान्डको तर्फबाट टेस्ट र एकदिवसीयमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले २३३ एकदिवसीयमा २१ शतक सहित आठ हजार पाँच सय ८१ रन तथा टेस्टमा ११० खेलमा सात हजार पाँच सय ८४ रन प्रहार गरेका छन् । टेस्टमा उनको नाममा १९ शतक पनि रहेको छ ।

सन् २००६ को मार्चमा वेस्ट इन्डिज विरुद्ध एकदिवसीय र त्यसको एक वर्ष पछि नोभेम्बर २००७ मा दक्षिण अफ्रिका विरुद्ध टेस्टमा न्युजिल्यान्डको तर्फबाट डेब्यु गरेका थिए । 

यसै वर्ष इङ्ल्यान्डमा सम्पन्न भएको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल उनले कप्तान केन विलियमसँग मिलेर न्युजिल्यान्डलाई उपाधि दिलाएका थिए । उनले यस अघि सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप खेल्ने जनाए पनि एकदिवसीयबाट पनि सन्यासको घोषणा गरेका हुन् ।

“यो अद्भूत यात्रा रह्यो । म आफूलाई निकै भाग्यमानी ठान्दछु किन भने मैले आफ्नो देशको लागि यति लामो समय सम्म प्रतिनिधित्व गर्ने अवसर पाए,” टेलरले भने । “मैले यस खेल मार्फत विश्वका उत्कृष्ट खेलाडीहरूसँगैविरुद्ध खेल्ने अवसर पाए । त्यस्तै मैले केही राम्रा साथी बनाउनुको साथै केही सम्झनाहरू पनि बनाउने अवसर मिल्यो ।” 

“सबै राम्रा कुराहरूको पनि अन्त्य हुन्छ र मलाई यस समय नै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनु उचित हुन्छ जस्तो लाग्यो । म मेरो परिवार, साथीहरू तथा जजसले मलाई यहाँ सम्म आउनका लागि सहयोग गरे सबैलाई धन्यवाद दिन चाहन्छु ।”

टेलरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे पनि सेन्ट्रल डिस्ट्रिक्ट्सका लागि घरेलु क्रिकेटमा निरन्तरता दिने पनि जनाए ।   

 

Click to comment

Trending