Headline

होबार्टको जितमा सन्दिपको उत्कृष्ट बलिङ प्रदर्शन 

Published

on

पछिल्लो तीन खेलमा विकेट लिन असमर्थ नेपाली टोलीका लेग स्पिनर सन्दिप लामिछानेले मेलबर्न रेनेगेड्स विरुद्धको खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । होबार्ट हरिकेन्सको लागि तीन दशमलब पाँच ओभर बलिङ गरेका सन्दिपले ३२ रन खर्चिएर तीन विकेट आफ्नो नाममा लेखाउन सफल रहे । 

यस अघि ६ खेल खेल्दा सन्दिपले दुई विकेट मात्र लिन सफल भएका थिए । उनले दुई खेलमा समान १-१ विकेट हात पार्दा बाँकी चार खेलमा विकेट बिहिन रहन पुगेका थिए । 

सन्दिपको पहिलो ओभर भने राम्रो हुन सकेन । होबार्टको लागि छैटौँ ओभर लिएर आएका सन्दिपले एक छक्का सहित कुल १३ रन खर्चिए । पहिलो ओभरमा महँगो साबित भएका सन्दिपले दोश्रो ओभरमा मात्र तीन रन खर्चिएर दुई विकेट हात पार्दै मेलबर्नलाई दबाबमा राख्न सफल रहे ।

आफ्नो तेश्रो ओभरमा केही दबाब दिए पनि सन्दिपले एक चौका सहित आठ रन खर्चन पुगे । उनले आफ्नो चौथो तथा अन्तिम ओभरमा एक चौका सहित कुल सात रन खर्चिए भने एक विकेट हात पार्दै होबार्टको जित सुनिश्चित गरे ।

सन्दिपको उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतमा होबार्टले खेलमा ८५ रनको फराकिलो जित दर्ता गरायो । पहिले ब्याटिङ गरेको होबार्टले बेन म्याकडर्मोटको १२७ रनको सहयोगमा २० ओभरमा पाँच विकेट गुमाएर २०६ रनको विशाल योगफल खडा गर्यो । जबाफी ब्याटिङ गरेको मेलबर्नका ओपनर साम हार्परले अर्धशतकीय पारी खेले पनि १५ दशमलब पाँच ओभरमा आफ्ना सबै विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो ।

होबार्टको जितमा सन्दिप बाहेक टम रोजर्सले पनि २४ रन दिएर तीन विकेट नै हात पारे ।        

Click to comment

Trending