Headline

पुबुदु दासानायके नेपाल आइपुगे

Published

on

नेपालका नव नियुक्त मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन् । यस अघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु आज नेपाल आइपुगेका हुन् । विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे । 

क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेपछि पुबुदुले पुन: नेपाल टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन् । मंगलबार विमानस्थल ओर्लिएपछि सञ्चारकर्मीसँग बोल्दै प्रशिक्षक पुबुदुुले पुन: नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुशी व्यक्त गरे । 

साथै नेपालको चुनौति सामना गर्न आफू तयार भएको पनि बताए । पहिले नेपाली टोली सम्हाल्दा र अहिले टोली सम्हाल्दा फरक भएको भन्दै प्रशिक्षक दासानायकेले नेपाली क्रिकेट नयाँ उचाइमा पुर्‍याउने जिम्मेवार थपिएको बताए ।

प्रशिक्षक पुबुदुले हाल नेपाली टोलीमा खेलाडी र क्यान बीचको समस्या संसारका सबै जसो देशमा हुने गरेको र नेपालको समस्या समान्य भएको भन्दै बन्द कोठा भित्र रहेर छलफल गरेको खण्डमा समाधान हुने विश्वास व्यक्त गरे । प्रशिक्षक दासानायकेले क्रिकेट अगाडि बढाउनका लागि खेलाडी र क्यानले सहयोग गर्ने विश्वास व्यक्त गरे । 

प्रशिक्षक दासानायकेले यस अघि सन २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसकेका छन् । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन २०१४ मा बंगलादेशमा आयोजना भएको ट्वान्टी ट्वान्टी  विश्वकप खेलेको थियो । सोही हिसाबले दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षकको रुपमा लिइन्छ ।

पूर्व मुख्य प्रशिक्षक डेव ह्वाटमोरले ओमान भ्रमणको क्रममा उतैबाट राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको थियो । त्यसपछि क्यानले खुल्ला प्रतिस्पर्धाबाट पुबुदुलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । 

Click to comment

Trending