Headline

राहुलले शतक प्रहार गर्दा पहिलो दिन भारतको कब्जामा 

Published

on

ओपनर केएल राहुलले अविजित रहँदै शतक प्रहार गरे पछि घरेलु टोली दक्षिण अफ्रिका विरुद्धको पहिलो टेस्टको पहिलो दिनको खेलमा भारतले कब्जा जमाउन सफल भएको छ ।

सेञ्चुरियनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको खेलको समाप्ति ९० ओभर खेल्दै तीन विकेट गुमाएर २७२ रन बनायो ।

सुरुवात देखि नै दक्षिण अफ्रिका विरुद्ध हाबी भएको भारतको तर्फबाट ओपनर तथा उपकप्तान केएल राहुलले अविजित रहँदै १२२ रनको पारी खेले । राहुलको यो सातौं र भारत बहिर पाँचौं टेस्ट शतक हो ।  २४८ बलको सामना गरेका उनले १७ चौका र एक छक्का प्रहार गरे । दिनको खेलको समाप्तिमा पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका अजिंक्य रहाने पनि ४० रनमा अविजित छन् । उनीहरुको जोडीले चौथो विकेटका लागि अविजित ७३ रनको साझेदारी गरेका छन् ।

कप्तान बिराट कोहलीको पहिले ब्याटिङ गर्ने निर्णयको फाइदा उठाउँदै ओपनर राहुल र मायंक अगरवालले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गर्दै भारतलाई निकै राम्रो सुरुवात दिए । १२३ बलको सामना गर्दै ६० रन बनाएका अगरवाल लुंगी एनगिदीको बलमा एलबीडब्लुको शिकार हुन पुगे ।

अगरवालको विकेटको पतन पछि ब्याटिङमा आएका चेतेश्वर पुजारा गोल्डेन डक आउट हुन पुगे पनि राहुलले कप्तान कोहलीसँग मिलेर भारतको पारी सम्हाले । ३५ रनमा आउट भएका कोहलीले तेश्रो विकेटका लागि राहुलसँग मिलेर ८२ रनको साझेदारी गरे ।

दक्षिण अफ्रिकाका एनगिदीले भारतका खसेका सबै विकेट हात पारे भने अन्य बलरहरु विकेट बिहिन रहन पुगे ।     

 

Click to comment

Trending