Headline

श्रीलंकासँगको हारमा नेपालको सम्मानजनक ब्याटिङ 

Published

on

विकेट किपर ब्याटर अर्जुन साउदले अर्धशतक तथा अर्धशतक बनाउन चुकेका विवेक यादवले आक्रामक पारी खेले पनि नेपाल यु १९ ले यु १९ एसिया कप अन्तर्गत आफ्नो दोश्रो खेलमा श्रीलंका यु १९ सँग ६० रनको हारको सामना गरेको छ ।

 आफ्नो पहिलो खेलमा बंगलादेशसँग १५४ रनको फराकिलो हारको सामना गरेको नेपाल आजको हार पछि समुह चरणबाट नै बाहिरिएको छ । नेपालले अब समुह चरणको अन्तिम खेलमा कमजोर कुवेतको सामना गर्नेछ ।   

सदिशा राजापाक्षचामिन्दु विक्रमासिङ्घेले शतकीय पारी खेले पछि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै ५० ओभर खेल्दै चार विकेटको नोक्सानीमा ३२२ रनको योगफल खडा गर्यो भने जबाफी ब्याटिङ गरेको नेपालले ४७ दशमलब पाँच ओभरमा आफ्ना सबै विकेट गुमाएर २६२ रन मात्र जोड्न सक्यो । 

ओपनरद्वय सन्तोष कार्की र कप्तान देव खनालले पहिलो विकेटका ११ ओभरमा ५९ रन जोड्दै राम्रो सुरुवात दिलाए । तर ३४ बलमा ३४ रन बनाएका सन्तोष र ४५ बलमा २८ रनको पारी खेलेका देवको विकेटको पतन पछि क्रिजमा आएका बसन्त कार्की एक तथा विवेक मगर दुई रनमा पेभेलियन फर्कँदा नेपाल चार विकेटको नोक्सानीमा ९२ रनको अवस्थामा खुम्चिन पुग्यो ।

तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका विकेट किपर ब्याटर अर्जुन साउद र वसिर अहमदले पाँचौं विकेटका लागि ७५ रनको साझेदारी गर्दै नेपाललाई लज्जास्पद हारको सामना गर्नबाट जोगाए । वसिर ४३ रन बनाएर आउट भए भने ८० बलमा ६४ रनको पारी खेलेका अर्जुन साउद दुर्भाग्य रुपमा रनआउट हुन पुगे । 

सतौँ नम्बरमा ब्याटिङ गर्न आएका विवेक यादवले आक्रामक पारी खेल्ने क्रममा २९ बलमा समान ३-३ चौका र छक्काको मद्धतमा ४६ रन बनाए । त्यस बाहेक गुलशन झा १३ तथा आदिल अन्सारी र शेर मल्ल सामना ७-७ रनमा पेभेलियन फर्किए भने तिलक राज भण्डारी एक रनमा अविजित रहे ।

श्रीलंकाको जितमा बलिङ तर्फ मथीषा पथिरानारावीन डि सिल्भाले समान ३-३ विकेट हात पारे ।     

३९ रनको अवस्थामा १७ रन शेवोन ड्यानियलको विकेट लिएर राम्रो सुरुवात गरेको नेपाल त्यस पछि भने सदिशा र चामिन्दुको ब्याटिङ अघि निरिह बन्न पुग्यो । श्रीलंकाको तर्फबाट ११९ बलमा सर्वाधिक १३१ रन बनाएका सदिशा र १२६ बलमा १११ रनको पारी खेलेका चामिन्दुले दोश्रो विकेटका लागि २२३ रनको साझेदारी गर्दै श्रीलंकालाई विशाल योगफल तर्फ डोर्याए । त्यस्तै श्रीलंकाका कप्तान दुनिथ वेलालागेलले पनि अविजित रहँदै २४ बलमा ३४ रनको योगदान दिए ।

नेपालका आदिल अन्सारीले सर्वाधिक दुई विकेट लिए भने कप्तान देव खनाल र विवेक यादवले पनि आफ्नो नाममा समान १-१ विकेट दर्ता गराए ।    

 

Click to comment

Trending