Headline

ब्रिगेडमाथि सहज जितसँगै संकटा तेश्रो स्थानमा उक्लियो

Published

on

ब्रिगेड बोइज क्लबमाथि सहज जित हात पार्दै संकटा क्लब शहीद स्मारक ए डिभिजन लिगको तेश्रो स्थानमा उक्लिएको छ ।

दशरथ रँगशलामा आइतबार भएको पहिलो खेलमा उत्तम राइले दुई गोल गरेपछि संकटाले सहज जित निकाल्यो । संकटाले लिगमा आफ्नो अपराजित यात्रालाई पनि कायमै राखेको छ ।

जितसँगै संकटा ६ खेलबाट १२ अंकका साथ तेश्रो स्थानमा उक्लिएको हो । ९ अंक रहेको त्रिभुवन आर्मी फुटबल क्लबको हातमा अझै एक खेल रहेको छ । पाँच खेल खेलेको सातदोबाटो ८ अंकका साथ पाचौं स्थानमा रहेको छ ।

लिगको तेश्रो अपराजित टोली संकटाले तीनमा जित हात पारेको छ भने तीन खेल बराबरी गरेको छ । मच्छिन्द्र फुटबल क्लब र आर्मी बाँकी दुई अपराजित टोली रहेका छन् । मच्छिन्द्र शनिबार साँझको खेलमा मनाङ मस्र्याङ्गदी क्लबलाई पराजित गर्दै १४ अंकका साथ शिर्ष स्थानमा उक्लिएको थियो ।

मनाङको १३ अंक छ । तेश्रो हारको सामना गरेको ब्रिगेड भने गोल अन्तरको आधारमा ११ औं स्थानमा झरेको छ । ब्रिगेड र नेपाल एपिएफ क्लबको समान ५ अंक छ ।

आइतबार पहिलो आधा घण्टामै दुई गोल गर्दै संकटाले खेलमा बलियो पकड जमाएको थियो । १३ औं मिनेटमा उत्तमले पहिलो गोल गरे भने २८ औं मिनेटमा उनले टिमको अग्रतालाई दोब्बर बनाएका थिए ।

लक्ष्मण रुचालले ३८ औं मिनेटमा गोल गरेपछि संकटाले पहिलो हाफमा नै खेललाई पूर्ण रुपले आफ्नो पक्षमा पारेको थियो । दोश्रो हाफमा केही मौकाहरु पाएपनि संकटाले गोल अन्तरलाई बढाउन सकेन ।

Click to comment

Trending