Headline

प्रदेश १ सँग बदला लिँदा एपीएफलाई प्रधानमन्त्री कपको उपाधि

Published

on

प्रदेश १ सँग गत संस्करणको बदला लिँदा विभागीय टोली एपीएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । एपीएफले फाइनलमा प्रदेश १ लाई सात विकेटले पराजित गर्दै उपाधि चुमेको हो ।  

जितका लागि ६८ रनको सामान्य लक्ष्य पाएको छ एपीएफले १४ दशमलब दुई ओभर खेल्दै तीन विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।   

ओपनर इन्दु बर्मा पाँच, राजमती ऐरी शून्य तथा रोमा थापा चार रनमा आउट भए पनि ओपनर ज्योति पाण्डे र ममता चौधरीले रनको साझेदारी गर्दै गर्दै एपीएफलाई उपाधि दिलाए । ३९ बलको सामना गर्दै ६ चौका प्रहार गरेकी ज्योति सर्वाधिक ३६ रनमा अविजित रहिन् भने ममताले पनि अविजित १९ रनको पारी खेलिन् ।  

कप्तान रुबिना क्षेत्रीले चार ओभरमा १० रन खर्चिएर तीन विकेट हात पार्दै प्रदेश १ लाई राम्रो सुरुवात दिए पनि अन्य बलर विकेट बिहिन रहन पुग्दा पुन एक पटक प्रधानमन्त्रीको कपको उपाधि चुम्ने सपना साकार हुन सकेन ।    

यस अघि कप्तान सिता राना मगरले उत्कृष्ट बलिङ प्रदर्शन गर्दा खेलमा टस हारेर पहिले ब्याटिङ गरेको साबिक विजेता प्रदेश १ ले पुरै २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा ६७ रन भन्दा जोड्न सकेन ।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा प्रदेश १ को तर्फबाट कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३४ तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएकी अप्सरी बेगमले ११ रन बाहेक अन्य कुनै पनि ब्यटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

कप्तान रुबिनाले ४६ बलमा तीन चौका तथा अप्सरीले ३४ बलमा एक चौका प्रहार गरे । यस अघिको चार खेल मध्य दुई खेलमा अर्धशतक प्रहार गर्नुको साथै सबै चार खेलमा अविजित रहेकी अप्सरीको आज ब्याटिङ चल्न नसक्दा पनि प्रदेश १ ले ठुलो योगफल बनाउन सकेन ।

त्यस बाहेक प्रदेश १ का अन्य ब्याटरमा ओपनर काजल श्रेष्ठ चार, सबनम राई तीन, संगीता राई एक तथा निशा शाह दुई रनमा आउट भए भने स्मृति कटवाल ६ रनमा अविजित रहिन् ।   

प्रदेश १ लाई सस्तोमा रोक्ने क्रममा कप्तान सिताले चार ओभरमा १२ रन खर्चिएर सर्वाधिक तीन विकेट हात पारिन् भने रेखा रावलले चार ओभरमा ११ रन दिएर दुई तथा करुणा भण्डारीले एक विकेट आफ्नो नाममा दर्ता गराए । 

सेमिफाइनलमा एपीएफ लुम्बिनी प्रदेशलाई ३८ रनले तथा प्रदेश १ सुदूर पश्चिमलाई नौ विकेटले पराजित गर्दै फाइनल प्रवेस गरेका थिए । प्रदेश १ प्रधानमन्त्री कपको साबिक विजेता हो । दाङमा सम्पन्न अघिल्लो संस्करणमा एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि चुमेको थियो ।  

 

Click to comment

Trending