Headline

सुनिलको उत्कृष्ट फ्रि किक गोलमा मच्छिन्द्रद्वारा मनाङ पराजित

Published

on

डिफेन्डिङ्ग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगको शिर्ष स्थानमा उक्लिएको छ । मच्छिन्द्रले शनिबार फ्लडलाइटमा लिगको अर्को प्रबल दाबेदार मनाङ मस्र्याङ्गदी क्लबलाई १–० ले पराजित गर्यो ।

खेलको एक मात्र गोल सुनिल बलले ९२ औं मिनेटमा गर्दै मच्छिन्द्रलाई महत्वपूर्ण जित दिलाए । सुनिलको घुमाउरो फ्रि किक दर्शनीय रुपमा गोलमा परिणत भएको थियो ।

टप कर्नर हुँदै गोलमा परिणत भएको सुनिलको फ्रि किकलाई मनाङका गोलकिपर बिशाल सुनारले ठम्याउनै सकेनन् ।

जितसँगै मच्छिन्द्रले शिर्ष स्थानमा एक अंकको अग्रता लिएको छ । ६ खेलपछि मच्छिन्द्रको १४ अंक छ भने मनाङको १३ अंक रहेको छ । त्रिभुवन आर्मी क्लब र संकटाको समान ९ अंक रहेको छ र दुवै टोलीको हातमा एक खेल रहेको छ ।

सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबको समान ८ अंक रहेको छ । सातौं चरण सम्म शिर्ष स्थानमा रहने टोलीले एएफसी प्रेसिडेन्ट्स कप खेल्ने भएको कारण पनि मच्छिन्द्रको लागि शनिबारको जितले निकै ठूलो महत्व राखेको छ ।

Click to comment

Trending