Headline

पुबुदु अर्को साता नेपाल आउने 

Published

on

नेपाली राष्ट्रिय टोलीको नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दासानायके अर्को साता नेपाल आउने भएका छन् । गत महिना, मंसिर २३ गते दोश्रो कार्यकालका लागि मुख्य प्रशिक्षक नियुक्त भएका पुबुदु आगामी मंगलबार नेपाल आइपुग्ने छन् । 

नेपाल क्रिकेट संघ क्यानले गत मंगलबारबाट नेपाली टोलीको बन्द प्रशिक्षण सुरु गर्ने जनाए पनि क्यान र खेलाडी बीचको विवादका कारण तथा पुबुदुको वर्क परमिटका काम ढिला हुँदा बन्द प्रशिक्षण नै प्रभावित बन्न पुगेको थियो । पुबुदु मंगलबार नेपाल आइपुग्ने भए पछि क्यानले पुबुदु आएको केही दिनमा नै बन्द प्रशिक्षण सुरु गर्ने जनाएको छ ।  

पछिल्लो पटक २०१७ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका दौरान कन्सल्टेन्ट कोचका रुपमा नेपाल सम्हालेका पुबुदु चार वर्षपछि नेपाली क्रिकेटमा फर्कन लागेका हुन् । यद्यपि उनले दशैँ अघि सम्पन्न एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लेडिएटर्स टोलीलाई सम्हालेका थिए ।

राष्ट्रिय टोलीका केही प्रमुख खेलाडीहरु, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी, क्यानले तयार पारेको सेन्ट्रल कन्ट्राक्ट प्रति असन्तुष्टि जनाउनुका साथै बिभिन्न विषयलाई लिएर नेपाली क्रिकेटको सर्वोच्च निकायसँग रोष प्रकट गरि रहँदा तथा क्यान र खेलाडीको विवाद चरम बिन्दुमा पुग्दा भने पुबुदु नेपाल आउने भएका हुन् ।

२०१४ मा ट्वान्टी ट्वान्टी विश्वकप खेलेको नेपाललाई एक पटक फेरि विश्व क्रिकेटको ठूलो स्टेजमा पुर्याउने जिम्मेवारी पुबुदुको काँधमा हुनेछ । नेपालले फेब्रुअरीमा आईसीसी ट्वान्टी ट्वान्टी विश्वकपको ग्लोबल छनौट खेल्दैछ । ग्लोबल छनोटमा समुह ए मा रहेको नेपालले आयोजक ओमान, आयरल्याण्ड, युएई, फिलिपिन्स, क्यानडा, बहराइन र जर्मनीविरुद्ध खेल्नेछ । समुहको शीर्ष दुई स्थानमा रहने टोली विश्वकप पुग्ने छन् । 

 

Click to comment

Trending