Headline

दुई महिना अन्तर्राष्ट्रिय खेलमा व्यस्त हुँदै नेपाली टोली 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोली दुई महिना भन्दा बढीको समय अन्तर्राष्ट्रिय खेलमा व्यस्त हुने भएको छ । आगामी फेब्रुअरी १५ देखि २५ सम्म ओमानको राजधानी मस्कटमा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोट अघि र पछि गरेर नेपालले चारवटा शृंखला खेल्ने सम्भावना रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) श्रोतका अनुसार नेपालले जनवरीमा नेपालमा नै दुई देशीय अथवा तीन देशीय शृंखला खेल्ने छ भने विश्वकप छनोट अघि ओमानमा नै चार देशीय ट्वान्टी ट्वान्टी शृंखला खेल्ने छ ।

त्यस्तै कोरोनाका कारण सोचे अनुसारको समयमा हुन नसकेको विश्वकप लिग टु को एउटा शृंखला गराउनका लागि नेपाल र आईसीसी लागि परेको छ । नेपालले विश्वकप छनोट लगत्तै लिग टु को एउटा शृंखला ओमानमा नै खेल्ने पनि प्रवल सम्भावना रहेको छ । यसका लागि आईसीसीले नेपाल लगायत अन्य देशसँग समन्वय गर्दैछ ।

विश्वकप छनोट अघि नेपाली टोलीलाई पर्याप्त खेल खेल्ने अवसर जुरोस् भन्ने आशयले क्यानले नेपालमा नै एउटा शृंखला गर्नका लागि तयारी गरिरहेको हो । यस अघि जनवरीमा नै एउटा ट्वान्टी ट्वान्टी त्रिकोणात्मक शृंखला गराउनका लागि तयारी गरेको क्यानको योजनामा ओमिक्रोन भेरियन्टको कोरोनाका कारण प्रभावित बनेको थियो ।

युरोपियन देशहरुले ओमिक्रोनका कारण अन्य देशबाट आफ्नो देशमा आउने सबैका लागि कडाइ गरेका कारण क्यानको योजना असफल भएको थियो । तर विश्वकप छनोटमा सहभागी हुने टोलीहरुलाई नै नेपाल ल्याएर खेलाउन क्यान तत्पर रहेको हो ।

त्यस बाहेक ओमानले पनि विश्वकप छनोटको ठिक अघि चार देश सम्मिलित शृंखला आयोजना गर्ने योजना बनाएको छ । क्यानले पनि त्यसमा आफू सहभागी हुनका लागि ओमान क्रिकेट बोर्डसँग समन्वय गर्दैछ ।

गत हप्ताबाट पोखरामा सुरु हुने भनिएको नेपाली टोलीको बन्द प्रशिक्षण क्यानले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी लगायत तीब्र गतिका बलरद्वय सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गरेका कारण अन्य खेलाडीले समेत विरोध जनाएका कारण सुरु हुन सकेन । अब यसै हप्ता भित्रमा हालै नियुक्त भएका नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आउने र आगामी हप्ताबाट अभ्यास सुरु गर्नका लागि क्यानले तयारी सुरु गरेको छ ।

नेपाली टोली जनवरीको तेश्रो हप्ता तिर ओमान जाने र मार्चको दोश्रो साता मात्र नेपाल फर्कने तयारीमा रहेको छ ।

 

Click to comment

Trending