Headline

कर्णाली प्रदेश मात्र ६ रनमा अलआउट 

Published

on

अलिशा खडियाले घातक बलिङ गर्दै पाँच विकेट हात पारे पछि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कर्णाली प्रदेश मात्र ६ रनमा समेटिएको छ । 

६ रनमा अलआउट हुँदा कर्णाली प्रदेश १ सँग १६० रनको लज्जास्पद हारको सामना गर्न बाध्य भएको छ । जितका लागि १६७ रनको लक्ष्य पछ्याएको कर्णालीले ११ दशमलब चार ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र ६ रन बनाउन सकेको हो ।

कर्णालीलाई सस्तोमा समेट्ने क्रममा प्रदेश १ कि अलिशा खडियाले चार ओभर बलिङ गर्दै तीन मेडन सहित मात्र एक रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारिन् । अलिशा बाहेक संगीता राईले तीन दशमलब चार ओभरमा दुई रन खर्चिएर दुई तथा सबनम राईले दुई ओभरमा दुई रन दिएर एक विकेट आफ्नो नाममा दर्ता गराए ।

कर्णालीको तर्फबाट ओपनर तथा कप्तान आयुषा टन्डनले २८ बल खेल्दै सर्वाधिक तीन तथा अंशु शाक्य र लक्ष्मी रिमालले समान १-१ रन जोडे भने बाँकी कुनै पनि ब्याटरले रनको खाता खोल्न सकेनन् । कर्णालीका आठजना ब्याटर शुन्य रनमा नै पेभेलियन फर्किएका हुन् ।

कप्तान रुबिना क्षेत्री र अप्सरी बेगमले अर्धशतकीय पारी खेल्दा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले पुरै २० ओभर खेल्दै दुई विकेटको नोक्सानीमा १६६ रनको विशाल योगफल बनायो ।

प्रदेश १ को लागि ओपनर काजल श्रेष्ठ पहिलो बलमा नै आउट भए पनि रुबिना र अप्सरीले दोश्रो विकेटका लागि १६५ रनको साझेदारी गर्दै आफ्नो टोलीको पारी सम्हाले । प्रदेश १ को अन्तिम ओभरको पाँचौं बलमा ओत भएकी रुबिनाले ६४ बल खेल्दै १० चौकाको मद्दतमा सर्वाधिक ७६ रन बनाइन् भने ६२ बलको सामना गरेकी अप्सरी ६१ रनमा अविजित रहिन् ।

कर्णालीकी दिव्य धामीले चार ओभर बलिङ गर्दै २५ रन दिएर दुई विकेट आफ्नो नाममा लेखाउन सफल रहिन् ।       

 

Click to comment

Trending