Headline

सलाहको सिजनको २२ औं गोलमा लिभरपुलको जित

Published

on

मोहम्मद सलाहले सिजनको २२ औं गोल गर्दा लिभरपुलले इंगलिस प्रिमियर लिगमा न्युकासललाई ३–१ ले पराजित गर्दै म्यानचेस्टर सिटीसँगको दुरी एक अंकमा छोट्याएको छ ।

बुधबार भएको खेलमा कोरोना भाइरसको आशंकामा भर्जिला भान डाइक र फाबिन्हो बिना मैदान उत्रेको लिभरपुल खेलको शुरुवातमै पछि परेको थियो । तर दुई मिनेटको अन्तरमा दुई गोल गर्दै लिभरपुलले उत्कृष्ट पुनरागमन जित निकाल्यो ।

१७ चरणको खेलपछि सिटीको ४१ अंक छ भने लिभरपुलको ४० । एभर्टनसँग १–१ को बराबरी खेलेपछि चेल्सी ३७ अंकसाथ तेश्रो स्थानमा रहन पुग्यो । लेस्टर सिटी र टोटेन्ह्याम हट्स्परबीचको खेल भने स्थगित भएको थियो ।

अंक तालिकामा आर्सनल २९ अंकका साथ चौथो र वेष्ट ह्याम युनाइटेड २८ अंकका साथ पाचौं स्थानमा छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड २७ अंकका साथ छैटौं स्थानमा छ ।

एन्फिल्डमा जोन्जो सेल्भीले सातौं मिनेटमा गोल गरेपछि लिभरपुल पछि परेको थियो । डियोगो जोटा र सलाहले त्यसपछि २१ र २५ औं मिनेटमा गोल गरेपछि लिभरपुलले मनौबैज्ञानिक रुपमा खेलमा पकड बनाएको थियो ।

टाउकोमा लागेको चोटका कारण आइज्याक हेडन सिक्स यार्ड बक्समा ढलेपनि जोटाले मार्टिन डुब्राभ्काले बचाएपछि आएको रिबाउण्डमा गोल गरेका थिए । सकारात्मक शुरुवात दिलाएका सेल्भी न्युकासलले दोश्रो गोल खाँदा भने खलनायक बने ।

उनले दिएको गलत ब्याकपासको फाइदा उठाएका सादियो मानेले प्रहार गर्दा डुब्राभ्काले छेकेपनि रिबाउण्डमा सलाहले गोल गरे । सलाहले लगातार १५ खेलमा गोल अथवा असिस्ट गर्ने जेमि भार्डीको किर्तिमानको बराबरी पनि गरे ।

न्युकासल दोश्रो हाफमा सुधारिएको टोलीको रुपमा प्रस्तुत भयो र यस दौरान जेकब मर्फी र सेल्भीले केही राम्रा अवसरहरु पनि गुमाए । तर ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्डले ८७ औं मिनेटमा गोल गर्दै लिभरपुलको जित सुनिश्चित पारेका थिए ।

Click to comment

Trending