Headline

युरो कप र कोपा अमेरिका च्याम्पियनबीचको पहिलो भिडन्त लण्डनमा

Published

on

इतिहासमै पहिलो पटक हुन गइरहेको युरोप र दक्षिण अमेरिकी च्याम्पियन देशहरुबीचको अन्तरमहादेशीय फाइनल जुन १ मा लण्डनमा आयोजना हुने भएको छ ।

कोपा अमेरिका बिजेता अर्जेन्टिना र युरो कप च्याम्पियन इटालीबीच सम्भवत वेम्ब्लीमा खेलाइने खेललाई फाइनलिस्सिमा नाम दिइएको छ ।

२०२८ सम्मका लागि दुई महादेशको फुटबलको सर्वोच्च निकाय युएफा र कन्मेबोलबीच नविकरण भएको सम्झौता अन्तर्गत यो खेल हुन गइरहेको हो । यस अन्तर्गत थप दुई खेलहरु पनि हुने सम्झौतामा उल्लेख गरिएको छ ।

प्रत्येक दुई बर्षमा बिश्वकप गर्ने सहित अन्तर्राष्ट्रिय क्यालेण्डरमा परिमार्जन गर्ने फिफाको प्रस्तावबिरुद्धमा रहेको युएफा र कन्मेबोलबीच केही समय अघि नयाँ सम्झौताहरु भएका थिए । सम्झौता अनुसार दुवै महासँघको संयुक्त कार्यालय लण्डनमा रहनेछ ।

गत जुलाईमा युरो कपको फाइनलका दौरान टिकट नभएका फ्यानहरु तोडफोड गर्दै जबरजस्ती गर्दै स्टेडियममा प्रवेश गर्दा वेम्ब्ली बिवादको घेरामा तानिएको थियो ।

यद्दपि ९० हजार सिट क्षमता रहनुको साथै भिआईपी लाउन्ज र कर्पोरेट आतिथ्यको लागि छुट्टै व्यवस्था रहेको वेम्ब्ली युएफाको लागि सबैभन्दा लोकप्रिय आयोजना स्थल रहदै आएको छ । वेम्ब्लीमा २०२४ को च्याम्पियन्स लिग फाइनलको पनि आयोजना हुन गइरहेको छ ।

जुलाईमै भएको कोपा अमेरिका फाइनलमा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ बर्षमा पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । इटालीले युरो कप फाइनलमा इंगल्याण्डलाई टाई ब्रेकरमा पराजित गरेको थियो ।

Click to comment

Trending