Headline

ज्ञानेन्द्रलाई हटाउदै क्यानले सन्दिपलाई बनायो राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान

Published

on

नेपाल क्रिकेट संघले अनुशासन उल्लंघन गरेको भन्दै ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट हटाएको छ । उनीसँगै उप–कप्तान दिपेन्द्र सिँह ऐरिलाई पनि पदमुक्त गरिएको छ ।

ज्ञानेन्द्रको स्थानमा सन्दिप स्टार लेग स्पिनर लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान समेत नियुक्त गरेको छ । सन्दिप हाल अष्ट्रेलियन बिग ब्यास लिग खेल्दै आइरहेका छन् ।

क्यानको अनुशासन उल्लंघन सम्बन्धी गठन गरेको छानबिन समितिले गरेको सिफारिसको आधारमा ज्ञानेन्द्र र दिपेन्द्रलाई पदमुक्त गरेको हो । यी दुई खेलाडीसँगै तिब्र गतिका बलर सोमपाल कामी र कमल सिँह ऐरिलाई पनि क्यानले २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा शुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको छ ।

निलम्बनको निर्णय नलिएको क्यानले चारै जना खेलाडीहरुलाई राष्ट्रिय टोलीको समिकरणमा भने कायमै राखेको छ ।

क्यानले प्रदान गरेको सेन्ट्रल कन्ट्रयाक्टको बिषयलाई लिएर चार खेलाडीहरुले सार्वजनिक रुपमा बिरोध गर्दै बोलेको भन्दै नेपाली क्रिकेटको सर्वोच्च निकायले अनुशासन उल्लंघनको छानबिन अगाडी बढाएको थियो । क्यानले चारै जना खेलाडीहरुसँग दुई पटक स्पष्टिकरण मागेको र दुवै पटक चित्त बुझ्दो जवाफ नपाएको बताएको थियो ।

यस्तै क्यानले फेब्रुवरीमा हुन गइरहेको आईसीसी ट्वान्टी ट्वान्टी बिश्वकप ग्लोबल क्वालिफायरको तैयारीका लागि डिसेम्बर २१ देखि पोखरामा प्रशिक्षण शुरु गर्ने पनि निर्णय लिएको छ ।

Click to comment

Trending