Headline

एमबाप्पेको गोलको शतकमा मेस्सीको असिस्ट

Published

on

आफ्नो पुर्व क्लब मोनाको बिरुद्ध दुई गोल गर्दै किलियन एमबाप्पेले फ्रेञ्च लिग वानमा गोलको शतक पुरा गरेका छन् ।

च्याम्पियन्स लिगमा ३० गोल पुरा गर्ने इतिहासकै सबैभन्दा कान्छा खेलाडी बनेको एक हप्ता बित्न नपाउदै एमबाप्पेले अर्को कोशेढुँगा पुरा गरेका हुन् । एमबाप्पेले नै मोनाकोबिरुद्ध दुवै गोल गर्दा पिएसजीले लिग वानको अंक तालिकामा १३ अंकको फराकिलो अग्रता पनि लिएको छ ।

पेरिसमा जिब्रिल सिडिबेले एन्जल डि मारियालाई बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा एमबाप्पेले गोल गर्दै घरेलु टोलीलाई १२ औं मिनेटमै अग्रता दिलाएका थिए ।

मध्यान्तरअघि अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीको असिस्टमा गोल गर्दै एमबाप्पेले २०१७ मा प्रथम श्रेणीको फुटबल खेल्न थाले यता लिग वानमा एक सयौं गोल गरे । खेलमा मेस्सीको एक प्रहार बारमा लागेर फर्किएको थियो ।

पिएसजी टोलीका अर्का स्टार नेमार चोटले मैदान भित्र र बाहिर हँुदै गर्दा टिमको प्रदर्शन मेस्सी र एमबाप्पे वरिपरि नै घुम्दै आएको छ । गत साता च्याम्पियन्स लिगमा पिएसजीले बेल्जियन टोली क्लब ब्रुगलाई ४–१ ले हराउदा दुवैले २–२ गोल गरेका थिए ।

यस त्रममा एमबाप्पेले च्याम्पियन्स लिगमा आफ्नो ३० र ३१ औं गोल पुरा गरे । यसो गर्दा उनले युरोपकै प्रतिष्ठित क्लब फुटबल प्रतियोगितामा सबैभन्दा कम उमेरमा ३० गोल पुरा गर्ने खेलाडीमा मेस्सीकै किर्तिमानलाई तोडेका थिए ।

मोनाकोबाटै करिअर शुरु गरेका एमबाप्पेको पुर्व क्लबको नाममा १६ गोल रहेको छ । “किलियन एक पटक फेरि उत्कृष्ट साबित भए । यो प्रदर्शन हाम्रो लागि निकै प्रोफेसनल थियो र हामी जितको हकदार थियौं,” यो सिजन टिमको प्रदर्शनलाई लिएर आलोचित हुँदै आइरहेका पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले भने ।

पेरिसमा यस अघिका १२ भ्रमणमा मात्र दुईमा हार व्यहोरेको मोनाको पहिलो हाफमा बलियो देखिएको थियो र एमबाप्पेको दोश्रो गोलपछि उ खेलमा फर्कन असमर्थ रह्यो । निको कोभाचको टोली अंक तालिकामा २६ अंक सहित आठौं स्थानमा रहेको छ ।

डिफेन्डिँग च्याम्पियन लिल भने आइतबारको आफ्नो खेलमा लियोनसँग गोलरहित बराबरी रोक्कियो । यो सिजन लय समाउन असफल रहेको लिल २५ अंक साथ ११ औं स्थानमा रहेको छ ।

Click to comment

Trending