Headline

डर्बी खेलमा एट्लेटिकोलाई हराउदै रियलले जमायो ला लिगामा बलियो पकड

Published

on

डर्बी खेलमा एट्लेटिको म्याड्रिडलाई २–० ले हराउदै रियल म्याड्रिड स्पेनिस ला लिगामा निकै बलियो अवस्थामा आइपुगेको छ ।

आइतबार भएको खेलमा करिम बेन्जेमा र मार्को एसेन्सियोले गोल गरेपछि रियलले उपाधि दौडमा आफूलाई निकै अगाडी उभ्याएको छ । १७ खेलपछि ४२ अंक रहेको रियल एक खेल कम खेलेको सेभियाभन्दा ८ अंकले अगाडी छ ।

रियल बेटिसको ३३ र डिफेन्डिङ्ग च्याम्पियन एट्लेटिको रियलभन्दा १२ अंकले पछाडी छ । एट्लेटिकोले पनि एक खेल कम खेलेको छ ।

आइतबार नै ओसासुनाबिरुद्ध दुई गोलको अग्रता जोगाउन नसकेको बार्सिलोना २४ अंकका साथ आठौं स्थानमा छ ।

अंक तालिकामा निकै स्वस्थ अग्रता बनाए पनि रियल प्रशिक्षक कार्लो एन्सलोट्टी यो अवस्थालाई हलुका रुपमा लिन चाहदैनन् । “तपाई भन्न सक्नु हुन्छ हामी दावेदार हौं तर यो आराम गर्न मिल्ने अवस्था होइन । हामीले प्रत्येक खेल जित्दै उपाधि नजिक पुग्ने लक्ष्य राख्न आवश्यक छ,” एन्सलोट्टीले भने ।

एट्लेटिको प्रशिक्षक डिएगो सिमिओने भने उपाधि दौड समाप्त नभइसकेको बताउछन् । “उपाधि दौड अझै पनि खुल्ला छ । लिगमा अझै धेरै खेल खेल्न बाकी छ । रियलको अंक धेरै छ तर ला लिगा अलि जटिल छ,” उनले भने ।

घरेलु मैदानमा खेललाई नियन्त्रणमा राखेको रियललाई बेन्जेमाले १६ औं मिनेटमै भिनिसियस जुनियरको क्रसमा सुन्दर भलि प्रहार गर्दै अग्रता दिलाए थिए । क्लब करिअरकै उत्कृष्ट प्रदर्शन दिदै आएका बेन्जेमाको यो सिजनको १३ औं ला लिगा गोल हो भने सबै प्रतिस्पर्धा गरेर २०२१ मा उनले ३६ गोल गरिसकेका छन् ।

दोश्रो गोलमा पनि भिनिसियसकै असिस्ट रह्यो । रियल गोलकिपर थिबाउट कोर्ट्वालाई ६ वटा बचावका लागि प्रयत्न गरेपछि एट्लेटिको घरेलु टोलीका लागि खतरा बन्न सकेन ।

Click to comment

Trending