Headline

ए डिभिजन लिगः लगातार अंक गुमाउदै थ्रि स्टार

Published

on

शहीद स्मारक लिगको यो सिजन खराब प्रदर्शन गर्दै आइरहेको नेपाल एपिएफ फुटबल क्लबबिरुद्ध थ्रि स्टारले महत्वपूर्ण दुई अंक गुमाएको छ । आइतबार थ्रि स्टार एपिएफसँग गोलरहित बराबरीमा रोक्कियो ।

अंक तालिकामा पहिलो अंक जोडेको एपिएफले यसअघि तीन वटै खेलमा हारको सामना गरेको थियो । नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पनि पराजित भएको थ्रि स्टारले दुई खेलबाट पाँच अंक गुमाउदा चार खेलपछि ५ अंक मात्र जोड्न सफल भएको छ । थ्रि स्टार पाचौं स्थानमा छ ।

च्यासल युथ क्लबलाई ३–० ले पराजित गर्दै आकर्षक शुरुवात गरेको थ्रि स्टार पछिल्लो खेलमा फ्रेण्ड्स क्लबसँग पनि बराबरीमा रोक्किएको थियो । समग्रमा थ्रि स्टारले आफ्नो पछिल्लो तीन खेलबाट मात्र दुई अंक जोड्न सकेको छ ।

तुलनात्मक रुपमा कमजोर आँकिएको टोलीहरु बिरुद्ध नै थ्रि स्टारले अंक गुमाउदै आइरहेको हो ।

आफ्नो पहिलो खेलमा ब्रिगेड बोइजसँग ३–२ ले पराजित एपिएफ च्यासलसँग १–० र सातदोबाटोसँग ४–१ को फराकिलो अन्तरले हारेको थियो ।

आइतबार पहिलो हाफमा थ्रि स्टार पूर्ण रुपमा हावी भएपनि गोल गर्न सकेको थिएन । पहिलो हाफको अन्त्यतिर प्राप्त सबैभन्दा ठूलो मौकामा कप्तान बिक्रम लामाको फ्रि–किकमा अनन्त तामाङको हेडर थोरैले बाहिरिएको थियो ।

दोश्रो हाफमा एपिएफका आशिष लामाले लगातार गोल गर्ने तीन मौका चुकाएका थिए । खेल सकिनु भन्दा केही मिनेट अघि पेनाल्टी एरिया बाहिरबाट आशिषले गरेको प्रहारलाई थ्रि स्टारका गोलकिपर प्रिस्सोले मुश्किलले बचाएका थिए ।

Click to comment

Trending