राष्ट्रिय

शान्ती, कामना र लक्ष्मी पहिलो पटक राष्ट्रिय टोलीमा 

Published

on

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।

१२ सदस्य नेपाली राष्ट्रिय महिला टोलीको नाम सार्वजनिक हुँदा कामना विष्ट, शान्ती थारु र लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् भने आर्मी क्लबकी कृपा अधिकारी र मनिषा चौधरीले टोलीमा पुनरागमन गरेका छन् ।

करिब एक महिनाको प्रशिक्षण पछि १२ सदस्यीय राष्ट्रिय महिला टोलीको नाम नेपाल भलिबल संघले सार्वजनिक गरेको हो ।

मुख्य प्रशिक्षक जगदिश भट्टले १२ खेलाडीलाई समावेश गर्दै त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको  कर्भड हलमा तयारीलाई तिव्रता दिइरहेका छन् । अघिल्लो संस्करणको च्याम्पियन भएको नाताले नेपाललाई उपाधि रक्षा गर्नु छ । सो अनुसार टोलीले कडा मिहिनेत गरिरहेको छ ।

कोरोना महामारीका कारण तय भएका केही प्रतियोगिता स्थगित भएसँगै लामो समय पछि कोर्टमा फर्किएका खेलाडीमा सुरुआती चरणमा फिटनेस समस्या देखिए पनि अहिले टोली लयमा फर्किएको नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले बताए ।

त्यस्तै आइतबार सार्वजनिक गरिएको टोलीमा अघिल्लो संस्करणमा उपाधि जित्दाको भन्दा बलियो टोली भएको प्रशिक्षक भट्टले दाबी गरे । प्रतियोगितामा सहभागिता टोलीको स्तर नेपाली टोलीको जत्तिकै भएकाले पुन: एक पट नेपाललाई स्वर्ण दिलाउन सकिने मुख्य प्रशिक्षक भट्टले बताए । त्यसका लागि टोलीमा भएका कमिकमजोरीलाई सुस्म अध्ययन गरेर सुधारका लागि वर्कआउट भइरहेको प्रशिक्षक भट्टले बताए ।

डिसेम्बर २१ देखि २९ सम्म हुने प्रतियोगिता नेपाल सहित प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, श्रीलंका, आयोजक बंगलादेश, किर्गिस्तानले सहभागिता जनाउँदैछन् ।

नेपाली टोलीकी कप्तान अरुणा शाहीले महिना दिनको प्रशिक्षण राम्रो भइरहेको बताइन । टोलीको लक्ष्य उपाधि जित्ने भएकाले त्यसैलाई नै लक्ष्य बनाएर अभ्यास गरिरहेको बताए । नयाँ र पाका खेलाडीको संयोजनबाट टोलीले राम्रो प्रर्दशन गर्ने अरुणाले बताइन् ।

नेपाली टोली : प्रतिभा माली, सरस्वती चौधरी,शान्ति थारु,उषा भण्डारी, सफिया पुन,सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, अरुणा शाही, कृपा अधिकारी

Click to comment

Trending