Headline

इंगल्याण्डमाथि बिशाल जितसँगै एसेजमा अष्ट्रेलियालाई अग्रता

Published

on

इंगल्याण्डलाई पहिलो टेस्टमा ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रेलियाले एसेज टेस्ट श्रृंखलामा शान्दार शुरुवात गरेको छ ।

ब्रिस्बेनमा चौथो दिन लञ्च अघि पाहुना टोलीलाई दोश्रो इनिङ्गसमा २ सय ९७ रनमै अल आउट गर्दै मात्र २० रनको लक्ष्य पाएको अष्ट्रेलियाले फराकिलो जित हात पारेको हो ।

तेश्रो दिनको समाप्तिमा दुई विकेटको क्षतिमा २ सय २० रन बनाउदै पुनरागमन तर्फ अग्रसर इंगल्याण्डले शनिबार बाँकी ८ विकेट मात्र ९५ रनमा गुमाउन पुग्यो । यस क्रममा स्पिनर नथान लायोनले चार विकेट लिए भने क्यामरुन ग्रिनले दुई विकेट हात पारे ।

तेश्रो विकेटका लागि कप्तान जो रुटसँग १ सय ६२ रनको साझेदारी गरेका डाविड मलनलाई लायोनले पेभिलियन फर्काएसँगै इंगल्याण्डको पतन शुरु भएको थियो । ६ रनपछि रुट पनि ग्रिनको शिकार हुन पुगेका थिए ।

मध्यक्रममा जोस बट्लरले २३ रन बनाउँदा जोस हेजलउडको शिकार बने । आफ्नो २४ औं टेस्ट शतकबाट चुकेका रुटले १ सय ६५ बलमा ८९ रनमा आउट भएका थिए । मलनले १ सय ९५ रनमा ८२ रन बनाए ।

कप्तान प्याट कमिन्सले पाँच विकेट लिएपछि इंगल्याण्ड पहिलो इनिङ्गसमा मात्र १ सय ४७ रनमा सिमित भएको थियो । ट्रभिस हेडले एसेज इतिहासको तिब्र गतिको शतक सहित १ सय ५२ रन बनाउनुका साथै ओपनर डेभिड वार्नरले ९४ रन बनाएपछि अष्ट्रेलियाले ४ सय २५ रन बनाएपछि घरेलु टोलीले २ सय ७८ रनको बिशाल अग्रता पाएको थियो ।

अष्ट्रेलियाले लक्ष्य पछ्याउने क्रममा एलेक्स क्यारीलाई गुमाएपनि इंगल्याण्डसँग जोगाउनका लागि आशा गरे अनुरुपको रन पनि थिएन । दोश्रो टेस्ट डिसेम्बर १६ देखि एडिलेडमा शुरु हुनेछ ।

Click to comment

Trending