Headline

एसेज : कप्तान कमिन्सको घातक बलिङमा इंग्ल्यान्ड निरिह  

Published

on

कप्तानका रुपमा आफ्नो पहिलो टेस्टको पहिलो पारीमा प्याट कमिन्सले पाँच विकेट हात पारे पछि घरेलु टोली अष्ट्रेलिया विरुद्धको एसेज शृंखला अन्तर्गतको पहिलो टेस्टको पहिलो पारीमा इंग्ल्यान्ड सस्तोमा समेटिएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले आफ्नो पहिलो पारीमा मात्र ५० दशमलब एक ओभर खेल्दै १४७ रन बनाउँदा आफ्ना सबै विकेट गुमाउन पुग्यो ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा कमिन्सले १३ दशमलब एक ओभर बलिङ गर्दै ३८ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए भने मिचेल स्टार्क र जश हेजलउडले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराउँदा क्यामरन ग्रिनले पनि एक विकेट हात पारे ।

इंग्ल्यान्डको तर्फबाट विकेट किपर ब्याटर जस बटलरले सर्वाधिक ३९, ओली पपले ३५, ओपनर हसिब हमिदले २५ तथा क्रिस ओक्सले २१ रनको पारी खेले भने बाँकी ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ओपनर रोरी बर्न्सलाई पहिलो बलमा नै गुमाएका इंग्ल्यान्ड कुनै पनि समय खेलमा फर्कन सकेन । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका डाविड मलान छ, कप्तान जो रुट शुन्य तथा बेन स्टोक्स पाँच रनमा पेभेलियन फर्किए । 

६० रनमा पाँच विकेट गुमाएको इंग्ल्यान्डको लागि बटलर र पपले ५२ रनको साझेदारी गर्दै तीन अंकको स्कोर सम्म पुर्याए पनि उनीहरु दुबै ६ रनको अन्तरालमा पेभेलियन फर्कँदा इंग्ल्यान्ड सानो योगफलमा नै समेटिन पुगेको हो ।

इंग्ल्यान्डको पारी सकिए पछि लगातार वर्षा हुँदा अष्ट्रेलियाले आज ब्याटिङ गर्ने मौका पाउन सकेन ।      

 

 

Click to comment

Trending