Headline

बिग ब्यास लिगमा सन्दिपको राम्रो सुरुवात 

Published

on

बिग ब्यास लिगको आफ्नो पहिलो खेलमा सन्दिपले राम्रो सुरुवात गरेका छन् । 

एक वर्षको अन्तराल पछि अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट खेलेका सन्दिपले होबार्ट हरिकेन्सको तर्फबाट चार ओभर बलिङ गर्दै २४ रन खर्चिएर एक विकेट हात पारेका छन् ।     

आफ्नो पहिलो र दोश्रो ओभरमा मात्र तीन-तीन रन खर्चिएका सन्दिपले दोश्रो ओभरको पहिलो बलमा नै पाँच रन बनाएका ड्यान क्रिस्टियनको विकेट हात पारेका हुन् । त्यस्तै आफ्नो तेश्रो ओभरमा एक चौका सहित कुल सात रन दिएका सन्दिप चौथो तथा अन्तिम ओभरमा भने महँगो साबित हुन पुगे ।

पहिलो तीन ओभरमा मात्र १३ रन खर्चिएका सन्दिपले आफ्नो अन्तिम ओभरमा तीन सिंगल र दुई चौका सहित कुल ११ रन दिन पुगे ।  

सन्दिपको यो बिग ब्यास लिगमा चौथो सिजन हो । पहिलो र दोश्रो सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दिपलाई त्यस पछिको वर्ष होबार्टले अनुबन्ध गरेको थियो । सन्दिपले बिग ब्यास लिगको तीन संस्करणमा कुल २९ खेल खेल्दै ३४ विकेट आफ्नो नाममा लेखाएका छन् ।

सन्दिपले मेलबर्नबाट खेलेका पहिलो र दोश्रो संस्करणमा क्रमश आठ खेलमा ११ र १३ खेलमा १५ विकेट हात पारेका थिए भने होबार्टको लागि अघिल्लो संस्करणमा आठ खेल खेल्दै आठ विकेट नै आफ्नो नाममा लेखाएका थिए । अघिल्लो सिजन क्वारेन्टिनमा बिताउन परेका कारण सन्दिपले सुरुवाती चरणका खेलहरु गुमाउन पुगेका थिए ।        

Click to comment

Trending