Headline

एमबाप्पेले मेस्सीको च्याम्पियन्स लिग किर्तिमानलाई पछि पारे

Published

on

फ्रेञ्च स्टार किलियन एमबाप्पेले आफ्ना पेरिस सेन्ट जर्माइन (पिएसजी) टिममेट तथा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीको च्याम्पियन्स लिगको किर्तिमान तोडेका छन् ।

मँगलवार क्लब ब्रुगबिरुद्ध च्याम्पियन्स लिगको अन्तिम समुह चरण खेलमा एमबाप्पेले प्रतियोगिताको इतिहासमा सबैभन्दा कम उमेरमा ३० गोल पुरा गर्ने नयाँ किर्तिमान रचेका हुन् । खेलमा मेस्सीले पनि दुई गोल गर्दा यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको पिएसजीले ४–१ को सहज जित हात पारेको थियो ।

एमबाप्पेको च्याम्पियन्स लिगमा ३१ गोल भएको छ र उनले २२ बर्ष ३ सय ५२ दिनको हुँदा ३० गोलको कोशेढुँगा पार गरेका हुन् । मेस्सीले यो उपलब्धि हात पार्दा उनी २३ बर्ष १ सय ३१ दिनका लिए ।

खेलमा एमबाप्पेले पहिलो ७ मिनेटमै दुई गोल गर्दै पिएसजीको सहज जितको आधार खडा गरेका थिए । ७२ सेकेण्डमै उनको प्रहारलाई क्लब ब्रुगका गोलकिपर सिमोन मिग्नोलेटको पञ्जाले छोए पनि बटम कर्नरमा शान्दार गोल भएको थियो । सातौं मिनेटमा एन्जेल डि मारियाको पासमा एमबाप्पेले भलिमार्फत अर्को आकर्षक गोल गरे ।

३८ औं मिनेटमा एमबाप्पेको असिस्टमा नै मेस्सीले आफ्नो ट्रेडमार्क गोल गरे । मेस्सी बलसँगै क्लब ब्रुग बक्स भित्र ड्रिबल गर्दै गए, बललाई बायाँ खुट्टामा सिफ्ट गर्दै कर्लिङ्ग शटमार्फत गोल गरे । च्याम्पियन्स लिगमा उनको गोल खाने क्बल ब्रुग ३८ औं टोली हो ।

दोश्रो हाफमा म्याट रिट्सले गोल गर्दै क्लब ब्रुगलाई खेलमै राखे तर मेस्सीले त्यसको ८ मिनेटमै पेनाल्टी मार्फत यो सिजनको पाचौं गोल गरे । मेस्सीले च्याम्पियन्स लिगमा कुल १ सय २५ गोल गरिसकेका छन् ।

Click to comment

Trending