Headline

फराकिलो जितसँगै लुम्बिनी अण्डर १९ राष्ट्रिय च्याम्पियन

Published

on

तिब्र गतिका बलरहरु हावी हुँदा लुम्बिनी प्रदेश सुदुर पश्चिम प्रदेशलाई १ सय १३ रनको फराकिलो अन्तरले पराजित गर्दै अण्डर राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

कप्तान देव खनालले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिदै अर्को आकर्षक इनिङ्गस खेल्नुका साथै बिशाल बिक्रम केसीले पनि अद्र्धशतक प्रहार गरेपछि लुम्बिनीले ५० ओभरमा सबै विकेट गुमाएर २ सय १२ रनको चुनौतिपूर्ण योगफल खडा गर्यो ।

प्रतियोगिता भर सशक्त बलिँग गरेका बायाँ हाते तिब्र गतिका बलरहरु दुर्गेश गुप्ता र मोहम्मद हुसैनको गतिसँग नेगोसिएट गर्न नसकेको सुदुर पश्चिम २८ दशमलव २ ओभरमा ९९ रनको झिनो योगफलमै समेटियो ।

दुर्गेश र मोहम्मद हुसैनले शुरुवाती पाँच विकेट लिदा १४ दशमलव १ ओभरमा ४७ रन बनाएको थियो । लोकेश बम र नारायण जोशी (११) केही समय रोक्न सफल भएपनि बायाँ हाते स्पिनर अजय चौहानले निरन्तर विकेट लिदै सुदुर पश्चिमको इनिङ्गसको अन्त्य गरेका थिए ।

अजयले ५ दशमलव २ ओभरमा २० रन खर्चदै चार विकेट लिए । म्यान अफ द फाइनल दुर्गेशले ९ ओभरमा १९ रन दिदै तीन विकेट लिए भने माोहम्मदले दुई विकेट हात पारे ।

सुदुर पश्चिमका लागि लोकेशले सर्वाधिक २५ रन बनाए । ३९ बल खेलेका उनले चार चौका प्रहार गरे । ओपनर तथा कप्तान खडक बोहोराले ३६ बलमा तीन चौका प्रहार गर्दै २१ रन बनाए ।

यसअघि पहिलो ब्याटिँगको निम्तो पाएको लुम्बिनीले दोश्रो बलमै ओपनर आकाश त्रिपाठीलाई गुमाएको थियो । देवले दोश्रो विकेटका लागि प्रज्वल थापा (२४) सँग ७९ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ्गसलाई अघि बढाएका थिए ।

देवले बिशालसँग चौथो विकेटका लागि ४१ रनको अर्को साझेदारी पनि गरेका थिए । आकाश चन्दलाई एकै ओभरमा दुई छक्का प्रहार गरेका देवले उनीबिरुद्धै अर्को ठुलो शट खेल्ने चक्करमा विकेट गुमाएका थिए । प्रतियोगितामा चौथो अद्र्धशतक प्रहार गरेका देवले ९५ बलमा ७० रन बनाए । उनले कुल पाँच चौका र चार छक्का प्रहार गरेका थिए ।

बिशालले ६९ बलमा ५१ रन बनाउदा चार चौका र दुई छक्का हिर्काए । ब्याटबाट पनि चम्किएका दुर्गेशले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३२ रन बनाउदै लुम्बिनीलाई २ सय रन कटाउन सघाएका थिए ।

सुदुर पश्चिमका लागि आकाशले तीन विकेट लिए भने हेमन्त धामी र शेर मल्लले २–२ विकेट लिए ।

देवले ७ खेलमा ३ सय ३४ रन बनाए भने मोहम्मदले कुल २१ विकेट हात पारे ।

Click to comment

Trending