Headline

गण्डकीसँग हारेपछि प्रदेश १ अण्डर १९ राष्ट्रिय क्रिकेटबाट बाहिरियो

Published

on

गण्डकी प्रदेशसँग एक विकेटले स्तब्ध भएपछि अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो तीन खेल जितेको प्रदेश १ अन्तिम तीनमा पराजित हुँदै बाहिरिएको छ ।

त्रिवि क्रिकेट मैदानमा कमजोर ब्याटिङ्ग प्रदर्शन गरेको प्रदेश १ ४४ दशमलव ४ ओभरमा १ सय ३३ रनमा अल आउट भयो । सहज जितका लागि अग्रसर गण्डकी बिरुद्ध बलिङ्गमार्फत पुनरागमन गरेपनि गण्डकीले ३८ ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन बनायो ।

गण्डकी र सुदुर पश्चिमसँगै समान ६ अंक रहेको प्रदेश १ रनरेटको आधारमा चौथो स्थानमा रह्यो । शिर्ष दुई स्थानमा रहने टोली फाइनल प्रवेश गर्ने प्रतियोगितामा लुम्बिनीले १० अंकका साथ शिर्ष स्थान कब्जा गरिसकेको छ । जितका बावजुद गण्डकी पनि बाहिरिएको छ भने बलियो रनरेट सहितको सुदुर पश्चिम अन्तिम एक स्थानको दाबेदार रहेको छ । सुदुर पश्चिमले शुक्रबार बागमती प्रदेशसँग अन्तिम लिग खेल खेल्दैछ ।

बागमतीसँग फराकिलो अन्तरले हार्ने हो भने सुदुर पश्चिम रनरेटको आधारमा बाहिरिने खतरा पनि छ । चार अंक रहेको बागमतीलाई फाइनल पुग्ने अवसर छ ।

बिहिवार प्रतियोगिताकै कमजोर मध्ये एक टोली मानिएको गण्डकीबिरुद्ध प्रदेश १ ले शुरुवात देखि नै संघर्ष गर्यो । सोनु मण्डल (११) र दिपेश कँडेलले पाचौं विकेटका लागि ३० रनको साझेदारी गर्ने बाहेक प्रदेश १ लागि ब्याटिँगमा केही उल्लेखनीय हुन सकेन ।

आठौं विकेटको रुपमा आउट भएका दिपेशले १ सय १३ बल खेल्दै ४६ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे । दिपक जोशी (१६), बिबेक मेहता (१४) र ओपनर सोनु अन्सारी (१३) दोहोरो अंक छुने अन्य ब्याट्स्म्यानको रुपमा रहे ।

गण्डकीका लागि कमल परियरले तीन विकेट लिए भने सुदिप अर्यालले दुई विकेट हात पारे ।

पहिलो विकेट चार रनमै गुमाएको गण्डकीलाई अर्का ओपनर अर्जुन कुमालले सम्हाले । उनले दोश्रो विकेटका लागि दिपक डुम्रेसँग ६७ रनको पार्टनरसिप गरे । दिपक आउट भएपछि अर्जुनले मिलन क्षेत्री (२४) सँग अर्को २६ रन जोडे ।

तर अर्जुन आउट भएसँगै गण्डकीले निरन्तर विकेट गुमायो । ९७ रनमा दुई विकेट रहेको गण्डकी केही क्षणमै १ सय १२ मा ९ विकेटको कमजोर स्थितिमा पुगेको थियो । तर किरण पौडेल (१२ नटआउट) ले गण्डकीलाई जित दिलाए ।

म्यान अफ द म्याच दिपेशले प्रदेश १ का लागि १० ओभरमा ७ मेडन राख्दै मात्र १० रन खर्चिएर चार विकेट लिएका थिए । लव कामतले तीन विकेट हात पारे । अर्जुनले ७० बलमा ४५ रन जोड्दा ६ चौका प्रहार गरे भने दिपकले ५९ रनमा ३३ रन बनाउदा ७ चौका हिर्काए ।

Click to comment

Trending