Headline

बसिरको ५ विकेट, देव र आकाशको शतकीय साझेदारीपछि लुम्बिनी फाइनलमा

Published

on

स्पिनरहरुको उत्कृष्ट प्रदर्शनसँगै दुई ओपनरले शतकीय साझेदारी गर्दा लुम्बिनी प्रदेश अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम लिग खेलमा प्रदेश २ लाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

ओपनर सन्तोष कार्कीले एक पटक फेरि लोभ लाग्दो ब्याटिँग गरेपनि प्रदेश २ २७ रनमा अन्तिम ७ विकेट गुमाउदै ३९ दशमलव ५ ओभरमा १ सय ६८ रनमै अल आउट भयो । कप्तान देव खनाल र आकाश त्रिपाठीले पहिलो विकेटका लागि १ सय ४१ रनको साझेदारी गर्दै उत्कृष्ट शुरुवात दिएपछि लुम्बिनीले २७ ओभरमै सहज जित हात पार्यो ।

आफ्नो दोश्रो खेलमा प्रतियोगिताबाट बाहिरिने एक मात्र टोली कर्णालीसँग पराजित लुम्बिनी फाइनल पुग्ने पहिलो टोली बन्यो । लुम्बिनीलाई लक्ष्य पछ्याउन प्रदेश २ ले नै सहज बनाइदिएको थियो । लुम्बिनीले १ सय रन बनाउदा प्रदेश २ ले ३५ अतिरिक्त रन दिएको थियो ।

जारी प्रतियोगितामा पहिलो अद्र्धशतक प्रहार गर्ने क्रममा आकाशले ६२ बलमा ९ चौकाको सहयोगमा ५७ रन बनाए । यस्तै तेश्रो अद्र्धशतक प्रहार गरेका देवले ६२ रन बनाउदा ६ चौका र दुई छक्का हिर्काए । प्रज्वल थापा १३ रनमा नटआउट रहे ।

बागमतीबिरुद्ध निकै आकर्षक शतक प्रहार गरेका सन्तोषले प्रदेश २ लाई चाहे अनुरुपको सुरुवात दिलाउने क्रममा पहिलो विकेटका लागि अमित यादव (८) सँग ६६ रनको साझेदारी गरेका थिए ।

प्रदेश २ ले त्यसको २४ रनको अन्तरमा तीन विकेट गुमाँउदा सन्तोषले गुल्सन झासँग अर्को ५१ रन जोडेका थिए । राहुल चौधरीले सन्तोषको विकेट लिएसँगै प्रदेश १ धराशायी हुन पुग्यो ।

२ सय २९ रनका साथ प्रतियोगितामा सर्वाधिक रन जोड्ने खेलाडीको सुचीमा तेश्रो स्थानमा रहेका सन्तोषले ९२ बलमा सात चौका र पाँच छक्काको मद्दतमा ८२ रन बनाए ।

१ सय ४१ रनमा तीन विकेट रहेको प्रदेश २ ले चार रनको अन्तरमै पाँच विकेट गुमायो । आदिल अन्सारीले २४ बलमा २२ रन बनाउदै तीन छक्का र एक चौका प्रहार गरेपछि प्रदेश २ १ सय ७० रन नजिक पुगेको थियो । गुल्सनले २३ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।

प्रदेश २ लाई ध्वस्त बनाउने काम स्पिनर बसिर अहमदले गरे । उनले ७.५ ओभरमा २४ रन खर्चदै पाँच विकेट लिए । प्रतियोगितामा उच्च लयमा देखिएका दुई बायाँ हाते तिब्र गतिका बलर मोहम्मद हुसैन र दुर्गेश गुप्ता ब्याटिँग पिचमा विकेट लिन असफल भएपछि अन्य दुई स्पिनर बिशाल बिक्रम केसीले ३ र राहुलले दुई विकेट हात पारे ।

Click to comment

Trending