Headline

सुदुर पश्चिमको दोश्रो जितमा अर्जुन नायक

Published

on

अर्जुन साउद एक पटक फेरि ब्याटबाट चम्किएपछि गण्डकी प्रदेशलाई चार विकेटले पराजित गर्दै सुदुर पश्चिम प्रदेश अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलको दावेदारीमा कायमै रहेको छ ।

सुदुर पश्चिमलाई दोश्रो जितमा प्रदेश २ बिरुद्ध प्रतियोगिताको पहिलो शतक प्रहार गरेका अर्जुन साउदको इनिङ्गस महत्वपूर्ण रह्यो । जितका लागि २ सय ९ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा सुदुरले ६४ रनमा तीन विकेट गुमाइसकेको थियो ।

तर अर्जुनले दुई अद्र्धशतकीय साझेदारी गरेपछि सुदुर पश्चिमले ४९ दशमलव १ ओभरमा ६ विकेटको जित हात पार्यो ।

अर्जुनले चौथो विकेटका लागि कप्तान खडक बोहोरासँग ५० रनको साझेदारी गरे भने छैटौं विकेटका लागि राहुल भण्डारीसँग निर्णायक ६५ रन जोडेका थिए । अर्जुनले ७९ बलमा ६८ रन बनाउदा ६ चौका र दुई चौका प्रहार गरे ।

राहुलले ४२ बलमा नटआउट ४२ रन बनाउदै चार चौका प्रहार गरे । खडकले ७७ बलमा चार चौका हिर्काउदै ४० रन बनाए । गण्डकीका लागि सुबाष भण्डारीले तीन र सुदिप अर्यालले दुई विकेट लिए । तेश्रो हार व्यहोरेको गण्डकीलाई अब फाइनल यात्रा भने निकै कठिन बनिसकेको छ ।

यसअघि पहिलो ब्याटिँग गर्दै ४९ ओभरमा २ सय ९ रनमा समेटिएको गण्डकीका लागि दिपक डुम्रेले अद्र्धशतक बनाए भने ओपनर उत्सव श्रेष्ठले ५२ बलमा ४० रनको इनिङ्गस खेलेका थिए । उनीहरुले तेश्रो विकेटका लागि ५१ रनको पार्ट्नरसिप गरे ।

उत्सवले ५२ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे भने डुम्रेले ९९ बलमा ५६ रन बनाउदा ७ चौका हिर्काए । सुबाष भण्डारी (२८), कमल परियार (२०) र सुजन गौतम (१७) ले गण्डकीलाई २ सय रन नघाएका थिए ।

सुदुर पश्चिमका लागि कैलाश ऐरिले तीन विकेट लिए भने आकाश चन्द र गजेन्द्र बोहोराले पनि दुई–दुई विकेट हात पारे ।

Click to comment

Trending