Headline

सन्तोषको शतक र कप्तान बिबेकको आक्रमक ब्याटिँगमा प्रदेश २ ले बागमतीलाई हरायो

Published

on

ओपनर सन्तोष कार्कीले आकर्षक शतक प्रहार गर्नुका साथै कप्तान बिबेक यादवले पनि आक्रमक इनिङ्गस खेल्दा प्रदेश २ ले अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोश्रो जित हात पारेको छ ।

प्रदेश २ ले आइतबार त्रिवि मैदानमा भएको खेलमा बागमती प्रदेशमाथि ७ विकेटको सहज जित हात पार्यो । टस हारी पहिलो ब्याटिङ्ग गरेको बागमतीले स्वप्निल अधिकारी र बिपिन शाहीको अद्र्धशतकको मद्दतमा ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाई २ सय ५३ रनको चुनौतिपूर्ण योगफल बनायो ।

तर सन्तोषको शतक र बिबेकको आक्रमक इनिङ्गस सामुह बागमतीको केही चलेन । प्रदेश २ ले ४१ ओभरमा मात्र चार विकेटको क्षतिमा जित हात पार्यो । बागमतीले प्रतियोगितामा तीन खेल हारिसकेको छ ।

सकारात्मक शुरुवात गरेको प्रदेश २ का लागि सन्तोष र रोहन बिक (२६) ले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरे । प्रदेश २ ले रोहन सहित २९ रनको अन्तरमा तीन विकेट गुमाउदा बागमती खेलमा फर्कियो ।

तर सन्तोष र बिबेकले उत्कृष्ट शतकीय साझेदारी गर्दै प्रदेश २ लाई शान्दार जित दिलाए । प्रतियोगिताकै सबैभन्दा ठूलो साझेदारी गर्ने क्रममा १ सय ४४ रन बटुल्दा सन्तोष १ सय १५ बलमा १ सय ११ रन बनाउदै आउट भए । उनको इनिङ्गसमा १४ चौका र तीन छक्का सामेल थियो ।

जारी प्रतियोगितामा शतक प्रहार गर्ने सन्तोष तेश्रो ब्याट्स्म्यान बने । यसअघि प्रदेश १ का सोनु अन्सारी र सुदुर पश्चिमका अर्जुन साउदले शतक प्रहार गरेका थिए ।

बिबेकले ७२ बलमा ८५ रन बनाए । गौतम केसीलाई एकै ओभरमा लगातार तीन छक्का प्रहार गरेका उनले कुल ७ छक्का र ५ चौका हिर्काए । बागमतीका लागि तिलक भण्डारीले दुई विकेट हात पारे ।

उस्तै शुरुवात पाएको बागमतीका लागि बिपिन शाहीले फरिद खान (११) सँग मिलेर पहिलो विकेटका लागि ६४ रन जोडेका थिए । बिपिनले ८३ बलमा ५९ रन जोड्दा ६ चौका र एक छक्का प्रहार गरे ।

बागमतीका लागि अन्य ब्याट्स्म्यानहरुले उल्लेखनीय योदान दिन नसकेपनि स्वपनिल एउटा एण्डबाट रन बटुल्ने काम गरेका थिए । उनले ८३ बलमा ६ चौका र पाँच छक्काको मद्दतमा ८५ रन बनाए ।

यसबाहेक प्रतिक श्रेष्ठले १५ रन बनाए । बागमतीले ३५ अतिरिक्त रन पाएको थियो । प्रदेश २ का लागि पुरज ढुँगेलले तीन विकेट लिए ।

Click to comment

Trending