Headline

नेपालको ग्लोबल क्वालिफायर खेल्ने सपना चकनाचुर

Published

on

युएईसँग ४८ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपालको आईसिसि महिला ट्वान्टी ट्वान्टी बिश्वकप ग्लोबल क्वालिफायरमा पहिलो पटक खेल्ने सपना चकनाचुर भएको छ ।

दुबईमा आयोजक राष्ट्रसँग निकै कमजोर ब्याटिङ्ग प्रदर्शन गरेको नेपाल अब अंकका आधारमै तेश्रोमा धकेलिने लगभग तय छ । पाँच वटै खेल जितेको युएई शिर्ष स्थानमा रहदै ग्लोबल क्वलिफायरमा स्थान बनाउन सफल भयो । कुवेतसँग खेल्न बाकी रहेको हँगकँग दोश्रो बन्न सक्छ ।

पहिलो खेलमा हँगकँगसँग पराजित भएपछि युएईले दिएको १ सय २८ रनको लक्ष्य १८ दशमलव ५ ओभरमै पछ्याउनु पर्ने दवाब रहेको नेपाल तेश्रो ओभरदेखि विकेट गुमाएदेखि खुलेर खेल्न असफल रह्यो । नेपाल १९ दशमलव ४ ओभरमा ७९ रनमात्र बनाउन सक्यो ।

नेपालले खेलका दौरान जम्मा पाँच चौका मात्र प्रहार गर्न सक्यो । १३ रन बनाएकी ओपनर सिता राना मगर त्यसमध्ये तीन चौका प्रहार गरेकी थिइन् । अर्की ओपनर इन्दु बर्माले २० बलमा १५ रन बनाइन् । अन्य कुनै ब्याट्स्उमनहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

युएईका लागि समाइरा धर्निधर्काले चार ओभरमा पाँच रन खर्चदै चार विकेट लिइन् । प्लेयर अफ द म्याच चमानी सेनभिरत्ने र खुशी शर्माले २–२ विकेट लिइन् ।

यसअघि पहिलो ब्याटिङ्गको निम्तो पाएको युएईले पाँच विकेटको क्षतिमा १ सय २७ रन बनायो । नेपालबिरुद्ध ठूलो योगफल बनाउनका लागि युएईका लागि तीन ब्याट्स्उमनहरुको योगदान काफी रह्यो ।

उसका लागि चमानी सेनेभिरत्नेले अद्र्धशतक प्रहार गरिन् भने ओपनर थिर्था सतिसले पनि ठूलो रन बनाइन् । पहिलो विकेट चार रनमै बनाए पनि सतिसले दोश्रो विकेटका लागि कभिषा एगोडोगेले ५८ रनको साझेदारी गरेकी थिइन् । एगोडागेले २७ बलमा २२ रन बनाइन् ।

सतिसले चमानीसँग ४९ रनको अर्को ठोस साझेदारी गरिन् । सतिस ४६ बलमा तीन चौका प्रहार गर्दै ४७ रनमा उप–कप्तान सिता राना मगरको शिकार बनिन् ।

अन्तिम ओभरमा आउट भएकी सेनेभिरत्नेले ३६ बलमा सात चौका प्रहार गर्दै ५२ रन बनाइन् । नेपालका लागि कविता कुवरले दुई विकेट लिइन् भने सबनम राई र सँिगता राईले पनि १–१ विकेट हात पारिन् ।

Click to comment

Trending