Headline

मेस्सीलाई किर्तिमानी सातौं बालोन डि ओर जित्न रोक्ने धुनमा लेवान्डोस्की

Published

on

गत बर्ष कोरोना भाइरसका कारण रद्द गरिएको बिश्व फुटबलको सबैभन्दा प्रतिष्ठित पुरस्कार बालोन डि ओर सोमबार फर्कदा पोल्याण्ड स्ट्राइकर रोबर्ट लेवान्डोस्की अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीलाई किर्तिमानी सातौं पटक उपाधि जित्नबाट रोक्ने प्रयास गर्नेछन् ।

बायर्न म्युनिख स्टार लेवान्डोस्कीले गत सिजन बुन्डेसलिगामा मात्र २९ खेलमा ४० गोल गर्दै लामो समयदेखि रहदै आएको गर्ड मुलरको किर्तिमानलाई तोडेका थिए । ३३ बर्षिय लेवान्डोस्कीले २०२० को फिफा बेस्ट प्लेयर पुरस्कार पनि जितेका थिए ।

बायर्न प्रशिक्षक युलियन नागेल्सम्यान र उनका टिममेट थोमस मुलर पनि यो सिजनको उत्कृष्ट शुरुवात गरिसकेका लेवान्डोस्की नै बालोन डि ओरको हकदार मान्छन् ।

“अहिले लेविले जुन तरिकाले खेलिरहेका छन् मलाई लाग्छ सोमबार उनले नै पुरस्कार जित्ने छन्,” मुलरले भने । यो सिजन सबै प्रतियोगिता गरेर खेलेको शुरुवाती २० खेलमा लेवान्डोस्कीलाई २५ गोल गरिसकेका छन् ।

पछिल्लो १२ सिजन मेस्सी र क्रिष्चियानो रोनाल्डोले संयुक्त रुपमा ११ पटक जित्दै दबदबा बनाउदा २०१८ मा क्रोएसियन प्लेमेकर लुका मोड्रिच अपवादको रुपमा रहेका थिए । मोड्रिचले त्यो बर्ष रियलका लागि च्याम्पियन्स लिग जित्नुका साथै क्रोएसियालाई बिश्वकपको फाइनलसम्म डोर्याएका थिए ।

“रोबर्ट यस उपाधिको हकदार हुन् । पछिल्लो दुई बर्ष उनी अन्य खेलाडीहरु भन्दा अविश्वसनीय रुपमा नै एक समानको प्रदर्शन दिदै आएका छन्,” नागेल्सम्यानले गत महिना दिइएको एक अन्तर्वार्तामा भनेका थिए ।

मेस्सीले भने बार्सिलोनामा आफ्नो अन्तिम सिजनमा ३० गोल गर्दै कोपा डेल रेको उपाधि जितेका थिए । जुलाईमा भने उनी कोपा अमेरिका च्याम्पियन बन्दै २८ बर्षमा पहिलो पटक अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय उपाधि जिताएका थिए ।

पछिल्लो पटक २०१७ मा बालोन डि ओर जितेका रोनाल्डो भने यसपटक प्रमुख दाबेदारको रुपमा रहेका छैनन् ।

Click to comment

Trending