Headline

देव, बिशाल र वसिर चम्किएपछि लुम्बिनीको तेश्रो जित

Published

on

ब्याटिँगमा एक पटक फेरि देव खनाल र बलिँगमा बिशाल बिक्रम केसी चम्किएपछि लुम्बिनीले अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेश्रो जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले बागमतीलाई तीन विकेटले पराजित गर्यो । बागमतीले पहिलो ब्याटिँग गर्दै ४७ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रनको सामान्य योगफल खडा गर्यो ।
देवले अद्र्धशतक प्रहार गर्नुका साथै वसिर अहमदले अर्को नटआउट इनिङ्गस खेल्दा लुम्बिनीले ४६ दशमलव ५ ओभरमा जित हात पार्यो । लुम्बिनीले आफ्नो तीन वटै खेल मुलपानीमै जितेको हो ।

लुम्बिनीलाई राम्रो शुरुवात दिने क्रममा देवले पहिलो विकेटका लागि आकाश त्रिपाठी (१४) सँग ४७ रनको साझेदारी गरेका थिए । लुम्बिनीले आकाशसँगै बिराट भण्डारी (चार) र बिशाल (८) लाई सस्तैमा गुमाएपछि देवले प्रज्वल थापासँग ५७ रनको अर्को साझेदारी गरे ।

ठूलो स्कोरतर्फ लम्किएका देवलाई प्रतिस जिसीले ६७ रनमा बोल्ड गरे । शुक्रबार सुदुर पश्चिमबिरुद्ध पनि ९२ रन बनाएका देवले ९९ बलमा सात चौका र एक छक्का प्रहार गरे ।

लुम्बिनीले त्यसपछि प्रज्वल र दुर्गेश गुप्तालाई गुमाउदा ४० ओभरमा ६ विकेट गुमाउदै १ सय ५९ रन बनाएका थिए । तर शुक्रबार ३७ रनको नटआउट इनिङ्गस खेल्दै उत्कृष्ट फिनिसिँग गरेका वसिरले अर्को नटआउट ३१ रनको पारी खेले ।

३५ बलमा वसिरले दुई चौका र एक छक्का हिर्काए । प्रज्वलले ४५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रन बनाए । बागमतीका लागि गौतम केसीले तीन विकेट लिए ।

पहिलो फिल्डिँग रोजेको लुम्बिनीले बिहानको कण्डिसनको फाइदा उठाउदै सशक्त शुरुवात गरेको थियो । दुई बायाँ हाते तिब्र गतिका बलर दुर्गेश गुप्ता र मोहम्मद हुसैनबिरुद्ध रन बटुल्न नसकेको बाग्मतीले आफ्नो पहिलो चार विकेट ४७ रनमा गुमाएको थियो ।

दुर्गेश र हुसैनले लगातार कसिलो बलिँग गर्दाको फाइदा बिशाल बिक्रम केसीलाई भयो । बागमतीको टप अर्डरले बिशाललाई रनको लागि टार्गेट गर्दा शुरुवाती चार मध्ये तीन विकेट उनैलाई दिएको थियो ।

त्यसपछि प्रतियोगितामा एक समानको प्रदर्शन गरिरहेका बिबेक मगर र प्रशान्त महतले बागमतीलाई सम्हाल्दै ६५ रन जोडेका थिए । बिबेकले ६४ बलमा ४० रन बनाउदा चार चौका प्रहार गरे । उनले यसअघि प्रदेश १ बिरुद्ध ४२ र गण्डकीबिरुद्ध ८९ रन बनाएका थिए ।

प्रशान्तले ५० बलमा ७ चौका प्रहार गर्दै ३६ रन जोड्दा कमल ओलीको दोश्रो शिकार भए । दुई सेट ब्याट्स्म्यान पेभिलियन फर्किएपछि बागमतीले त्यो साझेदारीको फाइदा उठाउन सकेन । उसका लागि बिपिन शाही (२४) तेश्रो सर्वाधिक रन बनाउने ब्याट्स्म्यान रहे ।

लुम्बिनीका लागि बिशालले चार विकेट लिए भने हुसैनले पनि दुई विकेट हात पारे ।

Click to comment

Trending