Headline

ए डिभिजन लिगः च्यासलले जितको खाता खोल्यो, एपिएफको लगातार दोश्रो हार

Published

on

च्यासल युथ क्लबले ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । दशरथ रँगशालामा भएको पहिलो खेलमा च्यासलले नेपाल एपिएफ क्लबलाई १–० ले पराजित गर्यो ।

पहिलो खेलमा च्यासलले थ्रि स्टारसँग ३–० को फराकिलो हार व्यहोरेको थियो । एपिएफ पहिलो खेलमा पनि ब्रिगेड बोइजसँग ३–२ ले पराजित भएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सक्किएपछि च्यासलले दोश्रो हाफको शुरुवातमै गोल गर्यो । कमल श्रेष्ठले निकालेको पासमा रुमेश बर्तौलाले पेनाल्टी एरियाको ठ्याक्कै बाहिरबाट सुन्दर गोल गरेका थिए ।

पहिलो हाफमा च्यासलले नै पूर्ण रुपमा नियन्त्रण जमाएको थियो । अजित गुरुङ, आशिष लामा र नेपाली मुलका इटालियन मिडफिल्डर बिकास मेराग्लियाले गोल गर्ने अवसर गुमाएका थिए ।

यस्तै केचा यानिकले ६६ औं मिनेटमा पेनाल्टी एरियामा अनमार्क रहेपनि गोल गर्न असफल रहेका थिए । रुमेश नै खेलको म्यान अफ द म्याच भए ।

Click to comment

Trending