Headline

सोनुको शतकमा प्रदेश १ को लगातार तेश्रो जित

Published

on

सोनु अन्सारीले शतक प्रहार गरेपछि प्रदेश १ ले अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेश्रो जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सोनुले जारी प्रतियोगितामा शतक प्रहार गर्ने दोश्रो ब्याट्स्म्यान बनेपछि प्रदेश १ ले प्रदेश २ लाई ७ विकेटले पराजित गर्यो । बिहिबार सुदुर पश्चिमका अर्जुन साउदले प्रतियोगिताको पहिलो शतक प्रहार गरेका थिए ।

प्रदेश १ ले भने फाइनलमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाएको छ । उसले पहिलो खेलमा बागमती र दोश्रो खेलमा कर्णाली प्रदेशलाई हराएको थियो ।

पहिलो ब्याटिँग गर्ने निर्णय लिएको प्रदेश २ लाई कप्तान बिबेक यादवले अद्र्धशतक प्रहार गर्दै ४८ दशमलव २ ओभरमा २ सय ११ रनको सम्मानजनक योगफल तर्फ धकेलेका थिए । तर सोनुले उत्कृष्ट ब्याटिङ्ग प्रदर्शन गरेपछि प्रदेश १ ले ४४ दशमलव १ ओभरमा मात्र तीन विकेटको क्षतिमा जित हात पार्यो ।

प्रदेश १ को पुरै इनिङ्गस सोनुको नियन्त्रणमा रह्यो । उनले पहिलो विकेटका लागि अंकित सुबेदी (१४) सँग ४७ रनको साझेदारी गरे । दोश्रो विकेटका लागि लव कामत (९) सँग ३७ रन जोडेका सोनुले तेश्रो विकेटका लागि दिपेश कँडेलसँग अर्को ठोस साझेदारी गरे ।

सोनु र दिपेशले तेश्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । दिपेशले ५३ बलमा ३३ रन बनाउदै तीन चौका र एक छक्का प्रहार गरे । दिपेश आउट भएपछि सोनुले बिबेक मेहता (२४) सँग नटआउट ६५ रनको अर्को पार्टनरसिप गरे ।

जारी प्रतियोगिताकै उच्च योगफल बनाउने क्रममा सोनुले १ सय ४५ बल खेल्दै १ सय १९ रन बनाए । १ सय २३ बलमा शतक पुरा गरेका उनको इनिङ्गसमा १४ चौका र तीन छक्का सामेल थियो ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको प्रदेश २ का लागि ओपनर रोहन बिकेले छरितो खेल्दै ५९ बलमा ४७ रन बनाए पनि प्रदेश २ ले १ सय १३ रनमै ७ विकेट गुमाएको थियो ।

अघिल्लो दिन सुदुर पश्चिमबिरुद्ध २ सय ९१ रनको लक्ष्य पछ्याउदाका नायक आदिल अन्सारी मात्र १३ रनमा पेभिलियन फर्किएका थिए । त्यसपछि टिमलाई उकास्ने काम बिबेकले गरे । पुछारका ब्याट्सम्यानहरुसँग मिलेर उनले ७१ बलमा ७० रन बनाएका थिए ।

बिबेकको इनिङ्गसमा ६ छक्का र चार चौका सामेल थियो । बिबेकले नवौं विकेटका लागि ५७ रनको साझेदारी गर्दा प्रदिप पासवानले ६० बलमा १० रन बनाएका थिए । उनी नटआउट रहे । प्रदेश १ का लागि दिपेश कँडेलले तीन विकेट लिए भने दिपक जोशी र गौरव कटुवालले २–२ विकेट हात पारे ।

Click to comment

Trending