Headline

प्याट कमिन्स अष्ट्रेलियाका नयाँ टेस्ट कप्तान

Published

on

क्रिकेट अष्ट्रेलियाले तिब्र गतिका बलर प्याट कमिन्सलाई अष्ट्रेलियाको नयाँ कप्तान घोषणा गरेको छ । उनले इंगल्याण्डबिरुद्ध हुने एसेज टेस्ट श्रृंखला देखि अष्ट्रेलियको कप्तानी थाल्ने छन् ।

कमिन्स अष्ट्रेलियाको टेस्ट क्रिकेट इतिहासमा नियमित कप्तान बन्ने पहिलो फास्ट बलर भएका छन् भने रिची बेनउ पछि कप्तानी गर्ने पहिलो कुनै पनि किसिमका बलर पनि । उनी अष्ट्रेलियाको ४७ औं टेस्ट कप्तान बनेका हुन् ।

आफ्नो एक पुर्व सहकर्मीसँग २०१७ मा भद्दा सन्देश आदान प्रदान गरेको आरोपमा हाल अनुसन्धान चलेपछि टिम पेनले गत साता राजीनामा दिएपछि अष्ट्रेलियाको टेस्ट कप्तानीको पद रिक्त रहेको थियो । कमिन्स उप कप्तान रहेका थिए ।

कमिन्सको कप्तानी नियुक्तीसँगै पुर्व कप्तान स्टिभ स्मिथ उप कप्तानको भुमिकामा फर्किएका छन् ।

बिश्व नम्बर एक टेस्ट बलर कमिन्सले आफ्नो लागि यो अनपेक्षित सम्मान रहेको बताए । एसेज जस्तो ठूलो प्रतियोगिताको लागि यो भुमिका स्विकार्न पाउदा मलाई निकै ठूलो सम्मान दिए जस्तो भएको छ । म पछिल्लो केही बर्ष टिम (पेन) ले दिदै आएको लिडरसिपलाई निरन्तरता दिन चाहन्छु, कमिन्सले भने ।

अष्ट्रेलियाको छनोट समितिले कप्तानको उम्मेदवार रहेका स्मिथ र कमिन्समध्ये एक लाई छानेका हुन् । स्मिथ उप कप्तानको रुपमा नियुक्त हुनु भने उनको लागि ठूलो छलाँग हुन सक्छ ।

२०१८ मा दक्षिण अफ्रिकामा भएको बल ट्याम्परिङ्ग काण्डमा मुछिएका स्मिथलाई त्यो समय कुनै पनि किसिमको कप्तानीबाट दुई बर्षका लागि निलम्बन गरिएको थियो । उक्त काण्डका योजनाकार डेभिड वार्नरलाई भने क्रिकेट अष्ट्रेलियाले कप्तान बन्न नपाउने आजीवन प्रतिबन्ध नै लगाएको छ ।

अब भने स्मिथ कप्तानीको भुमिकामा चाडै नै फर्कन सक्ने बाटो खुलेको छ । स्मिथले त्यसयता इण्डियन प्रिमियर लिगमा कप्तानी गर्दै आएका छन् भने इंगल्याण्डको द हण्ड्रेड प्रतियोगितामा पनि वेल्स फायरको कप्तान बन्ने तर्फ अग्रसर छन् ।

Click to comment

Trending