Headline

बिश्वकपको आयोजना अधिकार हत्याउन कतारले सिआईए गुप्तचर प्रयोग गरेको खुलाशा

Published

on

कतारको लागि २०२२ बिश्वकपको आयोजना अधिकार सुरक्षित गर्नका लागि एक पुर्व सिआईए अधिकारीले बर्षौसम्म बिश्व फुटबलका उच्च अधिकारीहरु माथि गुप्तचरी गरेको खुलाशा भएको छ ।

एशोसिएट प्रेसले गरेको अनुसन्धानमा आयोजना अधिकारको दाबेदारीमा रहेका अमेरिका र अष्ट्रेलियालाई पछि पार्नका लागि कतारले हाल नीजि रुपमा काम गर्दै आइरहेका केभिन चकर नाम गरेका पुर्व सिआईए अधिकारीलाई २०१० मा आयोजक राष्ट्रको निर्णय गर्ने फिफा पदाधिकारीहरुमाथि गुप्तचरी गर्न लगाएको खुलेको छ ।

चकरको निदेर्शनमै काम गरेकाहरुसँग लिइएको अन्तर्वार्ता, बिल, इमेल र डकुमेन्टहरुको अध्ययन गर्दा उनले बिश्वकप आयोजना अधिकार पाइसकेपछि कतारका आलोचकहरुमाथि पनि निगरानी राख्दै आएका थिए ।

एपिको अनुसन्धानमा कतारले बिश्वकप आयोजना अधिकारका लागि कुनै कसर बाकी नराखेको देखिन्छ । यस अन्तर्गत प्रतिस्पर्धी राष्ट्रको बिडका बारे पत्ता लगाउन कोही फोटो पत्रकारको रुपमा रहने गर्थे भने लक्षित पदाधिकारीसँग नजिक हुन महिलाहरुलाई फेसबुक मार्फत पनि प्रयोग गरिन्थ्यो ।

२०१० मा भएको मतदान अघि चकर र उनको टोलीले कम्तिमा पनि फिफाको एक उच्च पदाधिकारीको मोबाइल रेकर्ड पनि मगाउने गर्दथे ।

चकरको कम्पनी ग्लोबल रिक्स एडभाइजर्सले २०१४ मा आफ्नो डकुमेन्टमा उल्लेख गरे अनुसार ‘प्रोजेक्ट मर्सिलेस’ नाम दिइएको उक्त कामको सबैभन्दा ठुलो उपलब्धि फिफा भित्रका कटु आलोचकहरु बारे सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नु थियो ।

उक्त प्रोजेक्ट पुरा गर्न ९ बर्षको अवधिमा कम्पनीले ३ सय ८७ मिलियन डलरको बजेट प्रस्ताव गरेको थियो । कतारले उक्त कम्पनीलाई कति तिरेको यो भने स्पष्ट छैन ।

कम्पनीको डकुमेन्टहरुका अनुसार बिश्व फुटबलमा महत्वपूर्ण मानिएका जोर्डनका राजकुमार अलि बिन अल हुसैनलाई फकाउनका लागि पनि कदमहरु चालिएको थियो । अल हुसैन २०१५ र २०१६ मा फिफा अध्यक्षका लागि लडेका थिए तर दुवै पटक उनी असफल रहे ।

२०१३ को डकुमेन्ट अुनसार ग्लोबल रिस्क एडभाजर्सले कतारको बिश्व फुटबलमा दह्रो उपस्थिति जनाउनका लागि अल हुसैनले सञ्चालन गर्दै आएको एक फुटबल बिकास संस्थालाई पैसा दिन पनि सुझाव दिएको थियो ।

अल हुसैनका एक प्रतिनीधिले भने कतारका शासकहरुसँग अल हुसैनको सम्बन्ध पहिलो देखि नै निकै राम्रो रहेका कारण उनलाई कुनै कन्सलट्यान्टको आवश्यकता नरहेको बताएका छन् ।

चकरले गर्ने सबै कार्यहरुको पूर्ण बिवरण नरहे पनि २०१४ देखि २०१७ सम्म तैयार पारिएका प्रस्तावना अनुसार उनले बिश्वकप बाहेकका कामहरुमा पनि हात हालेका थिए ।

‘पिकएक्स’ नाम गरेको एक प्रोजेक्ट अन्तर्गत कतारमा काम गर्न आएका आप्रवासी कामदारहरुको व्यक्तिगत जानकारीसँगै बायोमेट्रिक संकलन गर्ने गरिन्थ्यो । ‘फाल्कनआई’ नामको अर्को प्रोजेक्ट अन्तर्गत ड्रोनको प्रयोगमार्फत बन्दरगाह र सिमानाहरुमा निगरानी राख्ने र आप्रवासी कामदार जनसंख्या केन्द्रलाई नियन्त्रणमा राख्ने रहेको थियो ।

Click to comment

Trending