Headline

च्याम्पियन्स लिगः म्यान सिटी, पिएसजी र रियल अन्तिम १६ मा

Published

on

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा बुधबार पेरिस सेन्ट जर्माइनलाई पराजित गर्यो तर दुवै टोली प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् । रियल म्याड्रिड, स्पोर्टिङ्ग लिज्बन र इन्टर मिलानले पनि अन्तिम १६ मा स्थान बनाए ।

ग्याब्रियल जिजसले ७६ औं मिनेटमा निर्णायक गोल गरेपछि सिटीले घरेलु मैदानमा पिएसजीमाथि २–१ को जित हात पार्यो । किलियन एमबाप्पेले पिएसजीलाई शुरुवात दिलाएपनि रहिम स्टर्लिङ्गले सिटीका लागि बराबरी गोल गरेका थिए ।

जिजसले बिजयी गोल गर्नु केही मिनेट अगाडी ब्राजिलियन स्ट्राइकर नेमारले पिएसजीका लागि गोल गर्ने सुनौलो अवसर खेर फालेका थिए । लियोनल मेस्सीले खेलमा खासै प्रभाव जमाएनन् भने सब्स्टिच्युटको सुचीमा राखिएका सर्जियो रामोसलाई डेब्यु दिइएको थिएन ।

एक खेल अझै बाकी रहेपनि सिटी समुह बिजेताकै रुपमा अन्तिम १६ मा प्रवेश गर्नेछ भने अर्को खेलमा आरबी लाइपजिगले बेल्जियमको क्लब बु्रगलाई ५–० ले पराजित गरेपछि पिएसजी हारे पनि अर्को चरणमा स्थान पक्का भएको हो ।

बेन्जेमाको लागि मिश्रित दिन

फ्रेन्च टोलीका पुर्व खेलाडी साथी म्याथ्यु भाल्बुएनालाई सेक्सटेप देखाएर ब्ल्याकमेल गरेको आरोपमा बुधबार फ्रान्सको कोर्टले स्ट्राइकर करिम बेन्जेमालाई दोषी ठहर गर्यो । तर त्यसको केही घण्टापछि नै बेन्जेमाले रियल म्याड्रिडको सहज जितमा गोल गरे ।

रियलले सेरिफ टिरास्पोललाई ३–० ले पराजित गर्यो । अवे खेलमा बेन्जेमाले तेश्रो गोल गर्दा डेभिड आलाबाले फ्रि किकमार्फत रियललाई अग्रता दिलाएका थिए भने टोनी क्रुसले दोश्रो गोल गरे । रियल व्यवस्थापक कार्लो एन्सलोट्टीले अदालतको निर्णयले बेन्जेमालाई कुनै असर नपरेको बताए ।

“हामीले यो बिषयमा कुरा नै गरेनौं । उनी शान्त छन् । यो यस्तो बिषय हो जस बारे लामो समय कुरा हुँदा उनलाई प्रभाव पर्न सक्छ । त्यसैले यस बिषयलाई हामीले उनी भएको समयमा कोट्याएनौं,” एन्सलोट्टीले भने ।

रियल आफ्नो समुहमा शिर्ष स्थानमा उक्लियो भने युक्रेनी टोली शख्तर दोनेस्कलाई २–० ले हराउदै इन्टर मिलान पनि अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो । इन्टरको जितमा दुवै गोल एडिन जेकोले गरेका थिए ।

स्पोर्टिङ्गलाई १२ बर्षपछि राहत

पोर्चुगिज टोली स्पोर्टिङ्ग लिज्बन भने २००८–२००९ पछि पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको हो । घरेलु मैदानमा स्पोर्टिङ्गले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ३–१ ले हरायो । प्रि क्वार्टरफाइनलमा स्थान बनाउनका लागि दुई गोल अन्तरको जित चाहिएको खेलमा पेद्रो गोन्काल्भेसले दुई गोल गरेका थिए ।

यो सिजन नर्वेजियन स्ट्राइकर एर्लिङ्ग हालान्डको चोटेको अनुपस्थितिले गाह्रो बनाएको डर्टमण्ड च्याम्पियन्स लिगबाट बाहिरियो भने अब उसले युरोपा लिगको स्थानलाई लिएर चित्त बुझाउनु पर्ने भएको छ ।

अर्को खेलमा यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको लिभरपुलले थियागो आलकान्टारा र मोहम्मद सलाहको गोलको मद्दतमा एफसी पोर्टोलाई एन्फिल्डमा २–० ले हरायो । सलाहले च्याम्पियन्स लिग समुह चरणमा यो सिजन ६ गोल गरिसकेका छन् ।

समुह बी मै जुनियर मेसियासले निर्णायक गोल गरेपछि एसि मिलानले स्पेनिस च्याम्पियन एट्लेटिको म्याड्रिडलाई १–० ले हरायो । एट्लेटिको अंक तालिकाको पुछारमा रहेको छ भने अब अर्को चरणमा पुग्न उसले पोर्टोलाई त हराउनु पर्ने छ नै र लिभरपुलले अवे खेलमा मिलानलाई पराजित गर्नु पर्नेछ ।

Click to comment

Trending