Headline

‘भिलारियालबिरुद्धको जित ओलेलाई’

Published

on

म्यानचेस्टर युनाइटेडका अन्तरिम व्यवस्थापक माइकल क्यारिकले मंगलवार च्याम्पियन्स लिगमा भिलारियाल माथि हात पारेको जित पुर्व व्यवस्थापक ओले गुनार सोल्सायरलाई समर्पण गरेका छन् ।

क्रिष्चियानो रोनाल्डो र जेडन सान्चोले गोल गरेपछि युनाइटेड २–० को जित हात पार्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । सोल्सायरलाई बर्खास्त गरेको दुई दिनपछि युनाइटेडले महत्वपूर्ण जित निकाल्दै समुहको शिर्ष स्थान कब्जा गरेको हो ।

एक खेल बाकी रहँदा युनाइटेडको १० अंक छ भने भिलारियालको ७ र एटलान्टाको ६ अंक रहेको छ । स्विस टोली यँग बोइज भने लगभग बाहिरिसकेको छ ।

“पछिल्लो दुई दिन क्लबको लागि धेरै कठिन रह्यो । यो जित ओलेको लागि हो । हामीले केही गर्नु पर्ने थियो र गर्न पनि सक्यौं । सबै कुरा योजना अनुरुप भएकोमा एकदम खुशी छु,” क्यारिकले खेलपछि भने ।

फ्रेडले ७८ औं मिनेटमा एटिने कापएबाट बल खोसेर पाएको पासमा रोनाल्डोले गोल गर्दै यो सिजन च्याम्पियन्स लिगको शुरुवाती सबै पाँच खेलमा गोल गर्न सफल भए । सान्चोले इन्जुरी समयमा गोल गरेका थिए ।
युनाइटेडलाई जित दिलाउन डेभिड डि जियाको पनि महत्वपूर्ण योगदान रह्यो । उनले दुई उत्कृष्ट बचाउ गरेका थिए ।

प्रिमियर लिगमा निरन्तरको निराशाजनक प्रदर्शन पछि मंगलवारको जितले भने युनाइटेडका समर्थकहरुसँगै क्लब व्यवस्थापनलाई ठूलो राहत मिलेको छ । प्रिमियर लिगमा युनाइटेड शिर्ष स्थानको चेल्सीसँग १२ अंकले पछि पर्दै हाल सातौं स्थानमा रहेको छ ।

Click to comment

Trending