Headline

भुटानबिरुद्ध ठूलो जितसहित नेपालको दुबईमा शान्दार पुनरागमन

Published

on

भुटानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपालले आईसीसी ट्वान्टी ट्वान्टी महिला बिश्वकप एसिया छनोटमा शान्दार पुनरागमन गरेको छ ।

दुबईमा कसिलो बलिँग गर्दै भुटानलाई २० ओभरमा ६ विकेटको क्षतिमा ६१ रनमै रोकेपछि नेपालले आक्रमक ब्याटिङ्ग गर्दै ८.३ ओभरमै लक्ष्य प्राप्त गर्यो । इन्दु बर्मा र उपकप्तान सिता राना मगरको नयाँ ओपनिङ्ग जोडीको प्रयास गरेको नेपालले चार दशमलव दुई ओभरमै ३७ रन जोड्यो ।

सिताले १३ बलमा दुई चौका प्रहार गर्दै १७ रन जोडिन् । कप्तान रुबिना क्षेत्रीले १२ बलमा १० रन बनाइन् भने इन्दु २४ बलमा १८ रन बनाउदै नटआउट रहिन् । रुबिना आउट भएपछि क्रिजमा आएकी कविता जोशीले आफूले सामना गरेको पहिलो दुई बलमा चौका प्रहार गर्दै नेपालको जित सुनिश्चित गरिन् ।

एक चरणको राउण्ड रोबिन लिगपछि एसिया छनोटबाट शिर्ष स्थानमा रहने टोलीले जिम्बाब्वेमा हुने आईसिसि महिला ट्वान्टी ट्वान्टी बिश्वकपको ग्लोबल क्वालिफायर खेल्नेछ । मँगलवार नै भएको खेलमा हँगकँग युएईसँग ११ रनले पराजित भएपछि नेपाललाई शिर्ष स्थानमा उक्लने मौका खुलेको छ ।

युएई अहिले चार अंक सहित शिर्ष स्थानमा रहेको छ भने उसले नेपालबिरुद्ध लिगको अन्तिम दिन खेल्नेछ । हँगकँगसँग पहिलो दिन ६ विकेटले पराजित नेपाललाई उक्त खेल अघि रनरेट राम्रो बनाउने मौका मिल्नेछ र मंगलवार १० ओभर भित्रै प्राप्त जितले मद्दत पनि मिल्नेछ ।

दुबईमा टस जिति पहिलो ब्याटिङ्ग गरेको भुटान नेपालको कसिलो बलिङ्ग सामु खुलेर खेल्न सकेन । पहिलो विकेटका लागि ३० रन जोडेको भुटानलाई रोक्ने काम सिता र करुणा भण्डारीले गरिन् ।

सिताले चार ओभरमा मात्र १० रन खर्चदै तीन विकेट लिइन् भने करुणाले एक विकेट लिदा चार ओभरमा मात्रै ६ रन दिएकी थिइन् । सिताले ओपनर सोनाम पाल्दोनको विकेट लिएपछि भुटानको इनिङ्गसमा ब्रेक लागेको थियो ।

सिताले भुटानको लागि १२ रन बनाएकी अर्की ओपनर गवाँग छोदेनको पनि विकेट लिएकी थिइन् । कप्तान येसे छोदेनले ९ रन बनाइन् । अन्तिम १२ ओभरमा मात्र ३१ रन जोड्दै ६ विकेट गुमाएको भुटानको इनिङ्गसमा जम्मा तीन चौका सामेल थियो ।

Click to comment

Trending