Headline

लवको अलराउण्ड प्रदर्शनमा प्रदेश १ ले बागमतीलाई हरायो

Published

on

लव कामतले अल राउण्ड प्रदर्शन गरेपछि प्रदेश १ ले अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिजयी शुरुवात गरेको छ । प्रदशे १ ले बागमती प्रदेशलाई २६ रनले पराजित गर्यो ।

त्रिवि क्रिकेट मैदानमा टस जिती पहिलो ब्याटिङ्ग गरेको प्रदेश १ ले ४५ दशमलव ३ ओभरमा १ सय ७५ रन बनायो । जवाफमा लवले ५ विकेट लिएपछि बागमती ३१ दशमलव ४ ओभरमा १ सय ४९ रनमै समेटियो ।

पहिलो दुई विकेट १२ रनमै गुमाएको बागमतीलाई बिपिन शाही र बिबेक मगरले ८६ रनको साझेदारी गर्दै सम्हालेका थिए । लवको आगमन पछि बागमती इनिंगस धराशायी हुन थाल्यो । बिबेकको विकेट सहित लवले बागमतीको मिडल अर्डरलाई ध्वस्त पारेका थिए ।

बागमतीले आफ्नो अन्तिम ८ विकेट ५१ रनमै गुमाएको थियो । अर्का स्पिनर दिपेश कँडेलले ९ दशमलव ४ ओभरमा ४० रन खर्चदै तीन विकेट लिए । दिपेशले बिपिनको विकेट लिएका थिए । लवले ६ ओभरमा २६ रन खर्चिए ।

बिपिनले ५७ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ४३ रन बनाए भने बिबेकले ५१ बलमा ४२ रन जोडे । उनले ८ चौका प्रहार गरे । प्रतिक श्रेष्ठ र तिलक भण्डारीले समान १० रन बनाए ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको प्रदेश १ ले ओपनर अंकित सुबेदी (डक) लाई १६ रन हँुदा गुमाएको थियो । अर्का ओपनर सोनु अन्सारी र लवले ७८ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । क्रिस कार्कीले दुवै ब्याट्स्म्यानलाई पेभिलियन फर्काउदै बागमतीको पकड मजबुत बनाए ।

निरन्तर विकेट गुमाएको प्रदेश १ ले १ सय ३८ रनमा ९ विकेट गुमाइसकेको थियो । तर दिपक जोशीले २३ बलमा ३३ रन प्रहार गर्दै प्रदेश १ लाई चुनौतिपूर्ण योगफल सम्म डोर्याए । दिपकले तीन चौका र दुई छक्का प्रहार गरे ।

लवले पनि समान ३३ रन बनाउदा ६९ बलमा पाँच चौका हिर्काए । सोनुले ७३ बलमा चार चौकाको मद्दतमा ३२ रन बनाए भने दिपेश कँडेलले २३ रन जोडे । क्रिस र तिलक भण्डारीले समान तीन विकेट लिए । क्रिसले १० ओभरमा २४ रन दिए भने तिलकले २३ रन खर्चिएका थिए । बागमतीले ३९ अतिरिक्त रन दिएको थियो ।

 

Click to comment

Trending