Headline

८ बर्षपछि अण्डर १९ राष्ट्रिय क्रिकेट

Published

on

२०१३–१४ पछि नेपाल क्रिकेट संघले पहिलो पटक आयोजना गर्न गइरहेको अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंगलवार देखि शुरु हुँदैछ ।

पुर्व कप्तान पारस खड्काको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय टोली तत्कालीन क्यानबिरुद्ध आन्दोलनमा उत्रनुका साथै क्यान भित्रको चरम गुटबन्दीका कारण २०१४ यता राष्ट्रिय प्रतियोगिताहरु हुन सकेको थिएन ।  अन्तर्राष्ट्रिय निकायहरुले नेपाललाई दिदै आएको फण्ड पनि रोकिदिएका थियो ।

नेपालले बंगलादेशमा भएको २०१६ को अण्डर १९ बिश्वकपमा सहभागिता त जनायो तर नेपाली टिम ट्यालेन्ट हन्ट र बन्द प्रशिक्षणको आधारमै निर्माण भएको थियो । त्यसको एक बर्षअघि क्यान अन्तर्राष्ट्रिय निलम्बनमा परिसकेको थियो ।

राष्ट्रिय खेलकुद परिषदले सिनियर महिला र पुरुष क्रिकेटमा प्रधानमन्त्री कपको आयोजना गरिदिने गरेपनि अण्डर १९ क्रिकेट भने लथालिँग नै थियो । प्रधानमन्त्री कप अहिले पनि नेपालको सिनियर क्रिकेटको एक मात्र ठूलो प्रतियोगिता हो ।

२०१९ मा क्यानको निलम्बनलाई आईसिसिले सशर्त फुकुवा गरेपनि नेपाली क्रिकेटको सर्वोच्च निकाय आफैले कुनै प्रतियोगिता गर्न सकेको छैन । प्रधानमन्त्री कप र मेयर कप राखेप र महानगरपालिकाले दिएको बजेटले सञ्चालन भएका थिए ।

यसपटक भने क्यानलाई अण्डर १९ क्रिकेटमा चौधरी ग्रुपको वाई वाईले साथ दिएको छ । दुई पक्षबीच यसअघि नै सम्झौता भइसकेको र कोरोनाको दोश्रो लहर पनि थामिदै गएपछि मंगलवार देखि अण्डर १९ क्रिकेट प्रतियोगिता शुरु हुन गइरहेको हो ।

७ प्रदेशको सहभागिता रहने प्रतियोगिता मुलपानी क्रिकेट मैदान र त्रिवि मैदानमा हुने छन् । त्रिवि मैदानमा फाइनल र सेमिफाइनल सहित १२ खेल हुने छन् भने मुलपानीमा १० खेल सञ्चालन हुनेछ ।

बागमती प्रदेश र प्रदेश १ त्रिवि मैदानमा खेल्दै गर्दा मंगलवार मुलपानीमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश भिड्ने छन् ।

प्रतियोगिताको धनराशी ठूलो नरहेको र यस पटक खेलाडीको सेवा सुविधामा बढी ध्यान दिइएको क्यानका क्रिकेट व्यवस्थापक बिनोद दासले जानकारी दिए ।

Click to comment

Trending